सशस्त्रद्वारा एकैदिन सवा ६ लाख बढीको अवैध सामान बरामद

नेपालगन्ज : सशस्त्र प्रहरी बलले बाँकेमा एकैदिन सवा ६ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीका अनुसार भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै करिब ६ लाख २४ हजार ३४० रुपैयाँ बराबरको सामान बरामद गरी आइतबार भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको हो ।
डाँगीका अनुसार जिलाका विभिन्न स्थानमा खटिएको सशस्त्र प्रहरीको टोलीले २ लाख ३४ हजार ४९० रुपैया बराबरको लत्ताकपडा, पेय पदार्थ, तथा किराना सामान, एक लाख ५० हजार मूल्य बराबरको सुर्ती एक सय थान मोबाइल सेट र ७९ हजार ५ सय बराबरको हरियो तरकारी पिप्रहवा क्षेत्रबाट बरामद गरेको थियो । जमुनाहा नाकाबाट ४२ हजार ७ सय र वीओपी कालावन्जर इलाकाबाट १७ हजार एक सय बराबरको लत्ताकपडा, किराना सामान र हरियो तरकारी बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले बताए ।

विलविजका शंकास्पद रहेको आशंकामा मालवाहक टाटा योद्धा पिकप गाडी सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपरमा बुझाइएकोमा ९५ हजार १५० रुपैया जरिवाना गरि छाडिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै अन्दाजी ५ हजार बराबरका प्रतिबन्धित बोइलर कुखुराका चल्ला एक सय वटा र त्योसँगै एक क्यारेट अण्डा पनि बरामद गरि नेपालगन्ज पशु क्वारेन्टाइन चेकपोष्ट जमुनाहामा बुझाएर नष्ट गरिसके सशस्त्र प्रहरी बल नं. ३० गणले जानकारी दिएको छ । शनिबार एकैदिन बरामद गरिएको अवैध सामानहरु आइतबार आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं.३० गण नेपालगन्जले जनाएको छ ।