लुम्बिनी कप महिला फुटबल तयारी तिब्र

नेपालगन्ज :लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको नेपालगन्जमा तिब्र तयारी भइरहेको छ ।
नेपालगन्ज रंगशाला परिसरमै लुम्बिनी कप महिला फुटबलको सचिवालय स्थापना गरिएको छ । आयोजकले विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल जारी राखेको छ ।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्ज रंगशालामा आगामी फागुन १९ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे शुक्रबार भने पत्रकार भेटघाट कार्यक्रम गरियो ।
कार्यक्रममा आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता महिला फुटबलको विकासमा कोसेढुंगा साबित हुने दाबी गरे ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले महिला फुटबलको विकासमा टेवा पुग्ने आशा व्यक्त गरे ।
सो अवसरमा प्रतियोगिताका मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगितालाई मिडियाबाट सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सहभागी भइ पश्चिम नेपालमै पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ टिमलाई सहभागिता गराउने आयोजकको तयारी छ ।