कैलालीको भजनीमा ३ पेस्तोलसहित ३ पक्राउ

टीकापुर : कैलालीको भजनीमा ३ वटा अवैध पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार भजनी नगरपालिका ९ आम्बारीका दिलिप कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल, गोली, जरायोको सिङदेखि मयुरको प्वाँखसम्म भेटिएको हो। प्रहरीले ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र स्थानीय ३० वर्षीय सुरेश विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
डीएसपी सिंह भन्छन्, बाउछोरा नै हतियार लुकाएर बसेका रहेछन् । झन जंगलबाट ल्याइने अवैध वन्यजन्तुका अवशेष पनि भेटियो । हामीले अनुसन्धान अझै जारी राखेका छौं । ”
कार्कीको घरमा खानतलासी गर्दा एनएफ बेबी लेखिएको पेस्तोल १ थान, ११ गोली र म्यागजिन ,०.२२ बोर (हर्नेट) पेस्तोल १ थान, २४ गोली ,कटुवा पेस्तोल १ थान ,भरुवा बन्दुकको काठ भाग, छर्रा १ डिब्बा र बन्दुकको घोडा, मयुरको प्वाँख २ गुच्छा, जरायोको सिङ ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि हातहतियार तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ।