ठाकुरबाबा नगर अस्पताल उद्घाटन, सेवा पनि सुरु
भुरिगाउँ (बर्दिया) : बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा १५ शैयाको ठाकुरबाबा आधारभूत नगर अस्पतालको सेवा शुक्रबारदेखि सुरु भएको छ ।
ठाकुरबाबाका नगर प्रमुख तिलकराम लम्सालले वडा नं. ३ नेउलापुरमा नवनिर्मित १५ शैयाको अस्पताल भवनको उद्घाटन गर्नु भएको हो । शुक्रबारदेखि नै अस्पतालले सेवा पनि शुभारम्भ गरेको छ । अस्पताल भवन उद्घाटन गर्दै नगर प्रमुख लम्सालले नगरबासीलाई घर आँगनमै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएकोमा खुसी ब्यक्त गर्नुभयो । आफू निर्वाचित भएको ६ महिनाभित्रै २४ सै घण्टा अस्थायी रुपमा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको स्मरण गर्दै उहाँले अब सुविधा सम्पन्न नयाँ भवनबाट सेवा शुभारम्भ भएको बताउनुभयो ।

आधारभूत नगर अस्पताल निर्माणका लागि स्थानीय बासिन्दाहरूको सक्रियतामा झण्डै २ बिगाहा जग्गा व्यवस्थापन गरिएको थियो । झन्डै ५ वर्ष अघि जग्गाको व्यवस्थापन भएपछि मात्र नेपाल सरकारले नगर अस्पतालका लागि स्वीकृति प्रदान गरेको थियो । ४२ वटा कोठा र हलसहित ५० कोठा रहेको अस्पतालको भवन निर्माणका लागि नेपाल सरकारले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १२ करोड २४ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएकोमा केही अपुग रकम थप गरि १२ करोड ८४ लाख लागतमा नगर अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।
ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी योगी (भावुक)ले अस्पताललाई सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा जोड दिइएको बताउनुभयो । अस्पतालले प्रत्येक हप्ताको शनिबार विशेषज्ञ सेवा दिने योजना रहेको अध्यक्ष योगी बताउनु हुन्छ ।
हाल ३ जना चिकित्सकसहित २४ सै घण्टा सेवा सञ्चालन, स्वास्थ्य बीमा, अन्तरंग सेवा (भर्ना), सहुलियत मूल्यमा फार्मेसी सेवा, गुणस्तरीय ल्याब सेवा, भेन्टिलेटर सहित सर्पदंश उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा सञ्चालनमा रहेका छन्। साथै निकट भविष्यमै नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आँखा उपचार सेवा तथा नगरपालिका मार्फत दाँत उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । झन्डै ३ वर्ष अघि भुरीगाउँमा रहेको नेउलापुर स्वास्थ्य चौकीको भवनबाट अस्थायी रुपमा अस्पतालको सेवा सुरु भएको थियो । अस्पताल सञ्चालनमा आएसँगै स्थानीयलाई अब सामान्य उपचारका लागि सदरमुकाम गुलरिया र नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ ।








