कोहलपुर गोल्डकप : वर्षाले स्थगित खेल नाइजेरियाली टिमले जित्यो
कोहलपुर : चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार बिहानको खेलमा जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको छ ।
आइतबार अपरान्ह वर्षाका कारण ३७औ मिनेटमा स्थगित भएको खेल सोमबार बिहान पुनः आयोजना हुँदा रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले हराउँदै नाइजेरिया टिम विजयी भएको हो । यसअघि आइतबारको खेलमा २९औँ मिनेटमा जस्ट जोन एफसीका जर्सी नम्बर ९ का हम्जात डिमोलाले गोल गर्नु भएको थियो। सोमबार भएको खेलमा दोस्रो हाफको ४७औँ मिनेटमा जर्सी नम्बर १० अब्दुल्लाजीजले गोल गर्दै २–० गोलको अग्रता दिलाउनु भएको थियो । ४९औँ मिनेटमा कर्णालीका जर्सी नम्बर ७ का सन्दिप देउवाले जवाफी गोल फर्काउनु भयो। लगत्तै ५२औँ मिनेटमा जस्ट जोन एफसी (नाइजेरिया) का जर्सी नम्बर २९ का ओवालाही अफिजले गोल गर्नुभयो । ५५औँ मिनेटमा कर्णालीका जर्सी नम्बर ७७ का विक्रम ओलीले गोल गर्नुभयो । खेलको अन्तिम तिर ९० मिनेटमा गोल गर्दै जस्ट जोन एफसी नाइजेरियाका जर्सी नम्बर २७ का ताजुदिन एडीले जित सुनिश्चित गराउनु भयो।
खेलको म्यान अफ द म्याच जस्ट जोन एफसी नाइजेरियाका हम्जात डिमोला हुनु भयो । प्रतियोगिता कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन भइरहेको छ ।








