ब्राउन सुगरसहित कैलालीमा ६ पक्राउ
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा लागूऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार दुई ठाउँबाट ६ जनालाई पक्राउ गरेको छ । खक्रौलामा प्रहरीले ब्राउन सुगर ओसारपसारको शंका लागेर चेकजाँच गर्दा दुई युवा लागूऔषध छोडेर भागेका थिए ।
प्रहरी चौकी कालाकुन्डा र इलाका प्रहरी कार्यालय टीकापुरको प्रहरीले ती दुई युवालाई केही बेरमै लखेटेर नियन्त्रणमा लिएका थिए । भारत तर्फबाट से १ ह २२११ नम्बर को अटोलाई शंका लागि चेकजाँच गर्दा उक्त दुई युवा भागेका तर नियन्त्रणमा लिएर खानतलासी गर्दा राजापुर ४ बस्ने वर्ष ३० का तेज बहादुर विटालु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ बस्ने वर्ष १८ का साहेन नेपालीलाई १९.१६० ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
कालाकुन्डा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक बलराम बडुको कमान्ड र इलाका प्रहरी कार्यालयको शादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्र्न सफल भएको हो। दैनिक जसो युवाहरू पक्राउ पर्नाले पनि युवा पुस्ता कुलतमा फसेको सहजै अनुमान गर्न सकिने हुनाले अभिभावक हरु र नागरिक समाजले सहयोग गरेमा मात्रै लागूऔषध नियन्त्रण गर्न सहज हुने इप्रका टीकापुरका इन्चार्ज प्रकाश डाँगीले बताउनुभयो।
त्यसैगरी शुक्रबार नै गोदावरी नगरपालिका मेन रोडमा तिलक वलीले सञ्चालन गरेको आर बि होटलमा प्रहरीले छापा हान्दा १२०मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको जिप्रका कैलालीले जनाएको छ।








