गुलरियामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीतिबारे कार्यशाला

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरिया नगरपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति अद्यावधिक तथा तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ।
गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा दलित महिला उत्थान संघ, गुलरिया बर्दियाको सहकार्य एवं समन्वयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
गुलरिया नगरपालिका नगर उपप्रमुख एवं स्थानीय बालअधिकार समितिकी संयोजक सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालविवाह मुक्त वडा घोषणा सुनिश्चितता र यसको दिगोपनाका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै बालविवाह अन्त्यका लागि स्थानीय रणनीतिलाई समयानुकूल अद्यावधिक गर्दै प्रभावकारी कार्ययोजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले प्रस्तुतिकरण गर्दै बालविवाह न्यूनीकरणका लागि स्थानीय तहको भूमिका, कानुनी व्यवस्था, विद्यमान चुनौती तथा आगामी कार्यदिशाका विषयमा जानकारी गराउनु भएको थियो । उहाँले समुदायस्तरमै सचेतना अभिवृद्धि, शिक्षा, अभिभावकको जिम्मेवारी तथा सरोकारवाला बीचको समन्वयलाई सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, दलित महिला उत्थान संघ बर्दियाकी संयोजकले जिरा विकले बालविवाह अन्त्यसम्बन्धी रणनीति २०७८ सालदेखि कार्यान्वयनमा रहेको र हाल गुलरिया नगरपालिकालाई २०८३ सम्म बालविवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले दलित महिला उत्थान संघले २०५३ सालदेखि बर्दियामा महिला, बालबालिका तथा समुदायसँग सम्बन्धित विभिन्न सामाजिक मुद्दाहरू उठान गर्दै निरन्तर काम गर्दै आएको बताउनुभयो ।
गुलरिया नगरपालिका उप प्रमुख सावित्रा गौतमले बालविवाह एक सामाजिक कुरिति हो र यसको पूर्ण रूपमा अन्त्य गर्नका लागि स्थानीय रणनीतिहरूलाई समयानुकूल बनाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न पालिकाले काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले बालविवाह अन्त्यका लागि नीति निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
बालविवाहमुक्त समाज निर्माणका लागि स्थानीय तह, नागरिक समाज, संघसंस्था तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमसँग सम्बन्धित थप योजना तर्जुमाका कागजातहरू, बालविवाह न्यूनीकरणका रणनीतिका साथै स्थानीय तहका अन्य गतिविधिहरूबारे विभिन्न संघ संस्थासँग सहकार्य गरी आगामी दिनमा पनि काम गर्दै जाने बताइएको छ ।