काम नगर्ने ठेकेदारलाई बढैयाताल गाउँपालिकाले कारबाही गर्दै
संजय आचार्य । मैनापोखर
बर्दियाको बढैयाताल गाउँपालिकाले ठेक्का सम्झौता गरेर समयमैैकाम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने तयारी गरेको छ ।
गाउँपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले यसअघि ठेक्काको म्याद थप्ने प्रचलन रहे पनि अब काम नगर्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाही अघि बढाइने चेतावनी दिनुभयो ।
उहाँले गाउँपालिकाका ९ वटै वडामा विद्यालय र बस्तीलाई जोड्ने पालिका स्तरीय सडक योजना सञ्चालन गरिएको जानकारी दिँदै वडा नं. ३ को सडक निर्माण व्यवसायीको लापरवाहीका कारण सम्पन्न हुन नसकेको जिकिर गर्नुभयो। चालु आर्थिक वर्ष २०८२-०८३ मा सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समीक्षा र नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियो। ‘
अध्यक्ष त्रिपाठीले जनप्रतिनिधि र कर्मचारी नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड
दिँदै सार्वजनिक सुनुवाइले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सहभागी बाट आएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष त्रिपाठीले विकास निर्माणका योजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गरिने बताउनुभयो।
गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले विकास निर्माणका कार्यमा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आज पाएको प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समावेश गरी कार्यक्रमहरू गरिने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले गाउँपालिकाबाट प्रवाह भइरहेका सेवा, विकास आयोजना तथा चालु आर्थिक वर्षका कार्यक्रमबारे जानकारी गराउनु भयो । वहाले सेवामा देखिएका समस्या समाधानका लागि प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो।
विकासको लागि हाम्रो प्रयास नेपाल, बर्दियाका अध्यक्ष मेनका चौधरीले यस्ता सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको विश्वास अभिवृद्धि गर्ने तथा सरोकारवालाको जवाफदेहिता सुदृढ बनाउने बताउनु भयो ।
वर्षदिनमा हुने सार्वजनिक सुनुवाइ जस्तो महत्वपूर्ण कार्यक्रममा जनताका धेरै आशा र भरोसा जोडिएका हुने हुनाले जनप्रतिनिधिहरू उपस्थित भएर जवाफ दिनुपर्ने सहभागीहरुले बताए । सहभागी हरुले वडा नम्बर ८ को सडक पूर्वाधार , वडा नम्बर ४ र ५ को स्थलगत समस्या यस्तै वडा नं. १ र २ को समस्या ,सडक विस्तार समस्या का साथै कृषि बजार र हाटबजारको भवन निर्माण तथा विद्युतको समस्या लो भोल्टेज र अनियमितताबारे जानकारी गराउँदै जनप्रतिनिधिसँग जवाफ मागेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न जिज्ञासा, गुनासा राखंका थिए । गाउँपालिकाका पदाधिकारीहरूले उठाइएका विषयमा आवश्यक स्पष्टिकरण दिँदै सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए।









