लायन्स क्लब युनिटीले बाँकेमा देख्यो स्वास्थ्य कल सेन्टरको सम्भावना

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज युनिटीले बाँकेमा स्वास्थ्य सेवाबारे बिरामीलाई जानकारी दिन स्वास्थ्य कल सेन्टरको सम्भावना देखाएको छ ।
बाँकेका अस्पतालमा उपचारका लागि बाहिरी जिल्लाबाट आउने बिरामीलाई सही अस्पताल, सही समय र सही उपचार सेवा उपलब्ध गराउने उद्देश्यले क्लबले स्वास्थ्य आपतकालीन कल सेन्टरको अवधारणा अघि सारेको हो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर टीकाराम चपाईको प्रमुख आतिथ्यतामा क्लबका सचिव डा.विनोद कर्णले शुक्रबार नेपालगन्जमा भव्य समारोहबीच अवधारणा प्रस्तुत गर्नु भएको हो । उहाँले भन्नुभयो, कल सेन्टरले दूरदराजका ग्रामीण क्षेत्रबाट आउने बिरामीहरू तथा गरीब एवं दुःखी वर्गका लागि प्रत्यक्ष राहत र सहज स्वास्थ्य उपचारको लागि बाटो खोलेको छ।
डा.कर्णले कल सेन्टर स्वास्थ्य मार्गदर्शन सेवा भएको जिकिर गर्दै रोग अनुसारको सही अस्पतालबाट छिटो र छरितो सेवा उपलब्ध गराउन सेन्टर आवश्यक भएको दाबी गर्नुभयो । समयमै स्वास्थ्य मार्गदर्शन, सही अस्पतालबारे सुझाव, उपचारमा ढिलाइ कम गर्ने, समयको बचत गर्ने, खर्च घटाउने र स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्य रहेको छ ।
मेडिकल शिक्षा लिन रुस पुगेको बेला यस्तो कल सेन्टरमा काम गर्ने अवसर पाएको अनुभव सुनाउँदै डा.कर्णले कल सेन्टर स्थानीय, प्रदेश र संघीय सरकारले सञ्चालन गर्न सक्ने सुझाव दिनुभयो । उहाँले विदेशमा सफल भइसकेको यो अभ्यास नेपालमा पनि उत्तिकै आवश्यक रहेको जिकिर गर्नुभयो ।

क्लब अध्यक्ष अञ्जु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक गभर्नर टीकाराम चपाई, मल्टिपल कोअर्डिनेटर मधुसूदन शर्मा, इमिडिएट पास्ट डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, पीडीजी शेमराज शाक्य लगायतले कल सेन्टर स्थापना गर्न तीन तहकै सरकारलाई सुझाव दिनु भएको थियो । कल सेन्टरको सेवा कस्तो हुन्छ भन्ने बारेमा कार्यक्रममा नितिन गुप्ताले एआइबाट तयार पारेको भिडियो प्रस्तुत गरिएको थियो ।