भेरी अस्पतालमा बिरामीका कुरुवालाई योगकक्षा सुरु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले बिरामीका कुरुवाका लागि योगकक्षा सुरु गरेको छ ।
अस्पतालको १३६औँ स्थापना दिवसको पूर्वबिहानीमा बिरामीको कुरुवाको स्वास्थ्य, मानसिक तनाव र थकाइ मेट्न सोमबार बिहानदेखि योेगकक्षा सुरु गरिएको हो ।
बिरामीको चिन्ता, अनिद्रा र अस्पतालको उकुसमुकुस वातावरणका बीच कुरुवाहरू स्वयं नै मानसिक तथा शारीरिक रूपमा अस्वस्थ बन्ने जोखिम उच्च रहन्छ।
कुरुवाहरुलाई रमणीय वातावरणमा सूक्ष्म क्रियादेखि ध्यान गराइएको थियो ।
अस्पतालको सभाकक्षमा बिहान ५ बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिएको उक्त योग कक्षामा सहभागीहरूलाई सूक्ष्म क्रिया, विभिन्न योग आसन, प्राणायाम तथा ध्यानका विधिहरू व्यावहारिक रूपमा सिकाइएको योगगुरु वसन्त गौतमले जानकारी दिनुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बिरामी कुरुवाहरूको पीडा र मानसिक तनाव कम गर्न योग अभ्यासले अद्वितीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो— ूमानिसको मस्तिष्कमा जस्तो विचार आउँछ, दिमागले त्यस्तै हर्मोन उत्पादन गर्छ। त्यसैले अस्पताल जस्तो संवेदनशील ठाउँमा पनि सकारात्मक सोचको विकास गर्न योग अनिवार्य छ।
उहाँले बिरामीका कुरुवा र आफन्तहरूको स्वास्थ्य प्रबर्द्धनका लागि योग कक्षालाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कुरुवाहरूसँगै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। नवीन दर्नाल, नर्सिङ प्रमुख पदमा देवकोटा, नर्सिङ अधिकृत शीला शर्मा, अस्पताल नर्सिङ निरीक्षक त्रय बसुन्धरा ज्ञवाली सविना अधिकारी र दिव्येश्वरी न्यौपाने सिनियर अहेव राधिका कठायत लगायतका स्वास्थ्यकर्मी एवं कर्मचारी गरी ४० भन्दा सहभागी हुनु भएको थियो।