‘सेल्फ क्वारेन्टाइन’मा भन्दै बसपार्कमा छोडियो
मेरो खुसी संवाददाता
नेपालगन्ज : सीमा नाका जमुनाहामा अलपत्र परेका ९२ जना नेपालीले १७ घण्टापछि नेपाल प्रवेशको अनुमति पाएका छन् । मंगलबार बिहान तीन बजे जमुनाहा पुगेका उनीहरुलाई बाँके प्रशासनले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न भन्दै साँझ ७ बजेपछि दुई वटा गाडीमा बसपार्कमा लगेर छोडेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले ‘सबैलाई सम्बन्धित जिल्लामा खबर गरेर’ सेल्फ क्वारेन्टाइनमा बस्ने कमिटमेन्ट गरेर पठाएको बताएका छन् ।
मंगलबार मात्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मंगलबार सीमा नाकामा अलपत्र परेका नेपालीलाई अन्तिम पटक नेपाल प्रवेशको मौका दिन १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ ।