भेरीमा कोरोनाबाट २५ वर्षीया महिलाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड–१९) बाट भेरी अस्पताल नेपालगन्जमा शुक्रबार २५ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कैलालीको धनगढी नगरपालिका–२ सन्तोषी टोल घर भइ नेपालगन्ज उपमहानगरपालिका–९ बाँके गाउँमा बस्ने महिलाको शुक्रबार साँझ ४ः४५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
३० भदौमा कोरोना पुष्टि भएकी उनलाई दुबै फोक्सोको निमोनिया र कडा कोरोना भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनलाई प्लाज्मा थेरापी, रेम्डिसिभिरलगायतका उपचारका विधि अवलम्वन गरिएको थियो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।