नरैनापुरको मनमोहक बाबा बर्फानी आश्रमलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइँदै (फोटो फिचर)

शब्द/फोटो : शंकरप्रसाद खनाल (नरैनापुरबाट फर्केर)
बाँकेको नरैनापुर गाउँपालिकामा रहेकोका बाबा बर्फानी आश्रमलाई लुम्बिनी प्रदेश सरकारले धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’को नेतृत्वमा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीसहितको प्राविधिक टोलीले सोमबार बाबा बर्फानी आश्रम क्षेत्रको निरीक्षण गरेर डीपीआरको काम थालेको हो ।

बाबा बर्फानी आश्रमको स्थलगत अवलोकन गरेर फर्केकी सांसद नमूनाले राप्ती सोनारी र नरैनापुरको लेक (अग्लो डाँडो)लाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले २ करोड रुपैयाँ छुट्टाएको बताइन् । उनले यो क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन योजनाको खाँचो रहेको बताइन् ।

आश्रमबारे उनले भनिन्, ‘अग्लो डाँडो छ । चारैतिर हेर्दा असाध्यै रमणीय र मनमोहक ठाउँ छ । मनै प्रफुल्ल बनाउने वातावरण छ ।’ नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत शाहीले आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।

सो क्षेत्रको काठमाडौंको एम.के.कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिले ड्रोनबाट एरियल सर्भे गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक इन्जिनियर मदनकुमार ओलीले आगामी २ महिनाभित्र डीपीआर बन्ने बताए ।

नरैनापुर ३ गेग्लीबाट जंगलको कच्ची बाटोमा खोला नाला हुँदै अग्लो डाँडामा बाबाको आश्रम छ । जहाँ बाबाले झन्डैै २ सयभन्दा बढी गाई पालेका छन् । केही समय अघिसम्म त त्यहाँ झन्डै १ हजार २ सय वटासम्म गाई थिए ।