‘नेपालगन्ज स्वीमिङ पुल’ को तेस्रो पटक उद्घाटन, सर्वसाधारणलाई पौडी खेल्न खुला

नेपालगन्ज : ११ वर्षमा निर्माण सम्पन्न भएको नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीको राखेपका २ सदस्य सचिवले ३ पटक उद्घाटन गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले पौडी पोखरीको बुधबार उद्घाटन कार्यक्रममा भने, ‘म एउटा यस्तो व्यक्ति हुँ । एउटै पौडी पोखरी २ पटक उद्घाटन गर्न नेपालगन्ज आइपुगे ।’ उनले यसअघि १ चैत्र २०७६ सालमा यही पौडी पोखरीको उद्घाटन गरेका थिए । पौडी पोखरीको निर्माण सम्पन्न नभएको भन्दै ८औं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता नेपालगन्जको एक होटलमा आयोजना गरेका तत्कालीन राखेप सदस्य सचिव केशवकुमार विष्टले पनि आफ्नो कार्यकाल सकिँदै गर्दा ६ असार २०७६ मा यही पौडी पोखरीको उद्घाटन गरेका थिए । २०६६ सालदेखि निर्माण सुरु भएको पौडी पोखरी ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएपछि २०७६ असारमा निर्माण सम्पन्न भएको थियो ।
मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले अब सर्वसाधारणका लागि पौडी पोखरी खुला गरिएको जानकारी दिए । उनले भने, ‘विद्यार्थीका लागि एक सय र अरु सबैलाई दुई सय रुपैयाँ शुल्क तोकेको छौं । मासिक रुपमा एकमुष्ट रकम बुझाउँदा ५ हजार रुपैयाँ लाग्नेछ ।’ समितिले हरेक सोमबार बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म भने महिलाले मात्र पौडी खेल्न पाउने व्यवस्था गरेको जनाएको छ ।