यस्ता छन्, युट्युबमा पौने ६ करोडभन्दा बढी भ्युज भएका ६ नेपाली गीत

६ गीतमध्ये मेलिना राईका ४ वटा र राजनराज शिवाकोटीका दुई वटा गीत ६ करोडदेखि साढे १२ करोडभन्दा बढीले हेरेका छन्

नेपालगन्ज : गायक महेश काफ्लेले ६ दिन अघि फेसबुकमा स्टाटस् लेखे, ‘थोरै खुसी बाँडौं है । माया बिरानीलाई युट्युबमा चार करोडभन्दा धेरै पटक हेरिदिनु भएकोमा हामी सम्पूर्ण माया बिरानी टिमको तर्फबाट हजुरहरुलाई धेरै धेरै धन्यवाद । सुरक्षित बस्नुहोला ।’
महेशको शब्द, संगीत र गायन रहेको माया बिरानी बोलको गीत आइतबार दिउँसो २ बजेसम्म युट्युब भ्युज पाँच करोड ८५ करोड ८२ हजार पुगिसकेको छ ।

लकडाउनको झन्डै एक हप्ताकैै अवधिमा एक करोडभन्दा बढी भ्युज बढेको देखिन्छ । गीतमा मेलिना राईको नारी स्वर छ । चलचित्र निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पतिलगायतको अभिनय छ ।

अन्य ५ वटा नेपाली गीतको युट्युब भ्यूज झन्डै ६ करोडदेखि साढे १२ करोडसम्म पुगिसकेको छ । ६ गीतमध्ये मेलिना राईका ४ वटा गीत र राजनराज शिवाकोटीका दुई वटा गीत ६ करोडदेखि साढे १२ करोडभन्दा बढीले हेरेका छन् । युट्युबमा गायिका मेलिना राईका गीत सबैभन्दा बढी हेरिनेमा परेका छन् ।

सबैभन्दा बढी भ्युज भएको गीत भने दुई रुपैयाँ फिल्मको कुटुमा कुटु सुपारी दाना हो । यो गीतले १२ करोड ४९ लाख ६४ हजार भ्युज पाएको छ । शब्द संगीत राजनराज शिवाकोटीको रहेको गीतमा सिवाकोटी, मेलिना राई र राजन इसानको स्वर छ । यो गीतमा पनि निश्चल बस्नेत र स्वस्तिमा खड्का लगायतको दमदार नृत्य र अभिनय छ ।

दोस्रो बढी भ्युज पाएको गीत हो, टीका प्रसाईको माया लुकी लुकी…। यो गीत ८ करोड २० लाख ५० हजारले हेरेका छन् । गीत आनन्द अधिकारीले लेखेका हुन् ।

तेस्रो धेरै हेरिएको गीत आरोही एल्बमको पिरिम नलाउने…हो । ६ करोड चार लाख ८८ हजार भ्युज रहेको यो गीतमा पनि मेलिना राई र आशिष गौतमको स्वर छ । शब्द र संगीत दीपक शर्माको छ ।

चौथो धेरै हेरिएको गीत चङ्गा चेट फिल्मको गोजीमा दाम छैैन…बोलको गीत हो । जसको भ्युज ५ करोड ९५ हजार छ । शब्द हरिहर तिमिल्सैना र संगीत राजनराज शिवाकोटीको रहेको गीतमा राजनराज, मेलिना राई र गृष्मा शिवाकोटीको स्वर छ । नायिक प्रियंका कार्की र नायक आयुष्मान जोशीको अभिनय छ ।
बिष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वरमा रहेको सालको पात टपरी…बोलको गीत युट्युबमा पाँचौ धेरै हेरिएको गीत हो । जसको भ्युज ५ करोड ९२ हजार ३५ हजार रहेको छ । यो गीतमा रचनाकार नवराज पन्त र संंगीत वसन्त थापाको हो । छैठौं धेरै हेरिएको गीत नाच फिरिरी हो ।
पछिल्लो समयमा लोक भाकाका नेपाली गीतहरु युट्युबमा सबैभन्दा बढी टेन्डिङमा छन् भने सबैभन्दा बढी भ्युज भएका गीत पनि अधिकांश लोकगीत नै रहेका छन् ।