बाँकेमा रेडियोबाट १० कक्षासम्मको पढाइ सुरु

नेपालगन्ज : बाँकेमा रेडियोबाट कक्षा १० सम्मको पढाइ शुरु भएको छ ।
सेभ द चिल्ड्रेन, प्लान नेपाल, स्याक नेपाल र सामाजिक विकास मञ्चको आर्थिक सहयोगमा नेपाल शिक्षक महासंघ र नेपालगन्ज उपमहानगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिकासँगको साझेदारीमा नेपालगन्जको कृष्णसार एफएमले आइतबारदेखि रेडियो स्कुल कक्षा कार्यक्रम उत्पादन तथा प्रसारण सुरु गरेको हो । अनुभवी शिक्षकले रेडियोको स्टूडियोमा आएर पढाइरहेका छन् ।
कोरोनाका कारण लकडाउनमा विद्यालय बन्द हुँदा पढाइ रोकिएपछि दस कक्षासम्मको पाठ्यक्रम अनुसार रेडियोबाट पढाउन थालिएको रेडियोका स्टेशन प्रमुख तुला अधिकारीले बताए । दिउँसो ३ बजेदेखि ५ बजेसम्म सन्चालन हुने रेडियो कक्षामा कक्षा १ देखि १० सम्मका अंग्रेजी, विज्ञान, नेपाली, गणित र सामाजिक विषय पढाइ भइरहेका छन् ।