भारतीय गाडीले कोरोना सार्ने त्रासले खक्रौला नाका स्थानीयद्वारा अवरोध
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको खक्रौला नाका दुई दिनदेखि स्थानीयले अवरुद्ध गरेका छन् ।
टीकापुर नगरपालिका ९ खक्रौलावासीले निर्वाध रुपमा नेपाल छिर्ने भारतीय मालबाहक गाडीले कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै नाका अवरुद्ध गरेका हुन् ।
मोहना नदीको पारीपट्टी गाईवस्तु चराउन र सीमा क्षेत्रमा रहेको नेपाल भूमिमा खेतीपाति गर्न बन्देज हुने, भारतीय मालबहाक गाडी सामान्य चेकजाँच गरी नेपाल आउन दिएको भन्दै सीमा नाकामा अवरोध गरेको स्थानीय भरत साउँदले बताए ।
स्थानीयले खक्रौला पारीको जंगलमा पशु चौपाया चराउन पाउनु पर्ने र सीमा क्षेत्रमा रहेको खेतीपाति उपयोग गर्न जान पाउँ भन्दै शसस्त्र प्रहरी बल खक्रौलालाई केहि दिन अघि अनुरोध गरे पनि आफ्नो मागका कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
शसस्त्र प्रहरी बल खक्रौलाका प्रहरी निरीक्षक चन्द्रदेव भट्ट गाईवस्तु मोहनापारी चराउनका लागि स्थानीयले गरेको अनुरोधबारे आफूले माथिल्लो निकायमा जानकारी गराए पनि कुनै निर्णय नआएकाले माग पूरा नभएको बताए ।