राष्ट्रिय जनमोर्चाका नेता जिसीको मृत्यु

स्व. धनबहादुर जिसी

गुलरिया : राष्ट्रिय जनमोर्चा बर्दियाका नेता तथा समाजसेवी धनबहादुर जिसीको निधन भएको छ ।
राष्ट्रिय जनमोर्चा बारबर्दिया नगर समितिका अध्यक्ष जिसी दम र मधुमेह जस्ता दीर्घरोगबाट ग्रसित थिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो । शनिबार बिहान स्थानीय भादा नदीमा अन्त्येष्टि गरिएको थियो । नेता जिसीको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव हरि आचार्यले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । प्यूठानको बाङ्गे मरोठ २ मा २०२२ सालमा जन्मिनेका जिसी २०५५ सालतिर बर्दियाको बैदीमा बसाइँसराइ गरेका थिए । नेता आचार्यले जिसीको निधनले पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको बताए ।
समाजसेवी नेता जिसी स्थानीय स्तरमा लोकप्रिय थिए । प्यूठानबाट बसाई सरेर आएपछि उहाँले व्यापार व्यवसाय सन्चालन गर्दै आएका थिए । स्थानीय घाटमा गरिएको अन्त्येष्टिका क्रममा राजनीतिक दलका नेताहरु, उद्योगी, व्यापारी, नगरपालिकाका मेयर, उपमेयरलगायत सर्वसाधारणले नेता जिसीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । विस २०५० सालदेखि प्युठानबाट नेपाल कम्युनिष्ट पार्टी (मसाल) मा आवद्ध रहेका जिसी बारबर्दिया नगरपालिका वडा नं १० जैदीस्थित स्थानीय पार्टी कमिटिको सेक्रेटरीसमेत थिए । यसैबीच, नेकपा (मसाल) ले जिसीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती प्रकाशित गरेर जिसीको निधनले पार्टीलाई क्षति पुगेको बताएका छन् । ‘पञ्चायत कालदेखि नै हाम्रो पार्टीमा सङ्गठित भई सक्रिय हुनुभएका जिसी हाल पार्टीको नगर समिति सेक्रेटरी हुनुहुन्थ्यो’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ इमान्दार, असल, अनुशासित एवम् सक्रिय पार्टी सदस्य हुनुहुन्थ्यो ।’