कोहलपुरमा तेस्रो वडा पनि बालविवाह मुक्त घोषणा

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकामा तेस्रो वडा पनि बालविवाह मुक्त वडा घोषणा गरिएको छ । यसअघि कोहलपुरका वडा नं. १२ र १३ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।

कृष्ण माध्यमिक विद्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख लुटबहादुर रावत, उपप्रमुख सञ्जुकुमारी चौधरीको उपस्थितिमा वडा नं. १ का वडा अध्यक्ष गोपीलाल खनालले वडालाई बालविवाह मुक्त वडा घोषणा गरेका हुन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक बाँकेले कोहलपुरमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । परियोजनाको सहयोगमा जिल्लामा नेपालगन्ज उपमहानगरपालिकाका ४ वटा वडा, कोहलपुर नगरपालिकाका ३ वटा वडा, खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका एक एक वटा वडा बालविवाह मुक्त घोषणा भइसकेको स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिका-३, बैजनाथ-५ र जानकी-१ मा बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको छ ।