नेपालगन्जमा नाथमको शिक्षालय खोल्न जग्गा विवाद समाधान

नेपालगन्ज : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले नेपालगन्जमा शिक्षालय सञ्चालन गर्न जग्गा सम्बन्धी विवाद समाधान भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय छलफलले नाथमको शिक्षालय सञ्चालन गर्न नेपालगन्ज उपमहानगरपालिकाको पहलमा भएको सर्वपक्षीय र सर्वदलीय बैठकमा भएको निर्णयलाई सामान्य संशोधन गर्दै विवाद समाधान भएको हो । नेपालगन्ज उपमहानगर वडा नं. १९ मा रहेको २४ कठ्ठा जग्गामध्ये मुस्लिम समुदायलाई चार कठ्ठा र नाथमलाई एक विघा जग्गा दिने सहमति जुटेको हो । यसअघि हिन्दु र मुस्लिम समुदायलाई दुई दुई कठ्ठा जग्गा दिने सहमति भएको थियो । हिन्दु समुदायका लागि अन्य स्थानमा जग्गा उपलब्ध गराउने सहमति भएको छ ।
बैठकमा सांसद मो.याकुव अन्सारी, नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर, दलका प्रतिनिधि, नेपालगन्ज १९ का वडा अध्यक्ष पर्शुराम वर्मा, नाथम सञ्चालक समितिका सदस्य अच्युत गुरागाई, नागरिक समाजका कृष्णप्रसाद श्रेष्ठ, नाटाका श्रीराम सिग्देललगायतको सहभागिता रहेको थियो ।