राजापुरबाट नीलसागरले ग-यो बेवारिसे व्यक्तिको उद्दार

राजापुर : बर्दियाको राजापुरबाट मनोसामाजिक समस्यामा रहेका एक बेवारिसे ब्यक्तिको उद्दार गरिएको छ ।
अभिभावक विहीन भएर वेवारिसे अवस्थामा राजापुर नगरपालिका–४ शान्तिपुरमा बस्दै आएका करिव ५० वर्षिय घर ठेगाना नखुलेका व्यक्तिको नीलसागर सेवाश्रम नेपालगन्जले उद्दार गरेको हो ।
मनोसामाजिक समस्याका कारण केही दिन देखि शान्तिपुरमा वेवारिसे अवस्थामा बस्दै आएका उनलाई पत्रकार ऋषि वाग्ले लगायत स्थानीयले खानपिनको व्यवस्था गर्दै आएका  थिए ।
बेवारिसे अवस्थामा रहेको जानकारी आएपछि वडा कार्यालयले उद्दारका लागि सहयोग गर्न सिफारिस गरेपछि नीलसागरको टोलीलाई जिम्मा लगाइएको राजापुर–४ का वडा अध्यक्ष रमन रेग्मीले बताए । वेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको सहयोग गर्नु मानवीय धर्म रहेकोले यस्तो कार्यमा आफ्नो सहयोग रहने उनको बताए ।
उनलाई सेवाश्रममा राखेर मनोसामाजिक स्याहार सम्बन्धी परामर्शका साथै निःशुल्क औषधि उपचारको व्यवस्था गरिने नीलसागर नेपालगन्जका अध्यक्ष सरिता खनालले बताइन् । उपाध्यक्ष नारायण सुवेदीले समाजमा कही कतै यस्ता व्यक्ति भएमा आश्रमको सम्पर्कमा पठाएर सहयोग गर्न आग्रह गरेका छन् । राजापुर क्षेत्रबाट मात्र नीलसागरले अहिलेसम्म ९ जना व्यक्तिको उद्दार गरिसकेको छ ।