घाँस बेचेर जीवन निर्वाह गर्नेको पीडा (फोटो फिचर)

नेपालगन्जका लोपोेन्मुख तथा अल्पसंख्यक घँसियारा जातिका महिला घाँस बेच्दै । फोटोहरु : मेरो खुसी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–८ महेन्द्रपार्कको छेवैको घाँसमण्डीमा आइतबार अपरान्ह मेरो खुसी टिम पुग्दा घाँस बेच्ने महिला ग्राहक आएकोमा उत्साही देखिए । घाँसको मोलतोल गर्न छोडेर मोबाइलबाट फोटो खिच्दा उनीहरु एकैछिनमा निराश भए, ‘फोटो खिचेर हामीलाई के मिल्छ । रोजगारी पाइन्छ ?’ २१ वर्षकी मुनिता केवटको गुनासो गरिन्, ‘रातिको ९ बजेसम्म घाँस बेच्छौं । बिक्री नभए भोलिपल्ट फाल्नुपर्छ । फेरि ताजा घाँस खोज्न जानुपर्छ ।’

अल्पसंख्यक तथा लोपोन्मुख घँसियारा जातिको मुख्य काम घाँस काटेर बेच्ने हो । नेपालगन्जमा टाँगा व्यवसाय लोप भएपछि घँसियाराको पेशा संकटमा पुगेको छ । उनीहरुले घाँस काट्न र बेच्ने छोडेका छैनन् ।

५५ वर्षिया छोट्ना केवटले गुनासो गरिन्, ‘पहिले घोडाका लागि घाँस किन्न आउँथे । अहिले बाख्राको लागि किन्छन् । घरखर्च जुटाउनैै गाह्रो हुन्छ ।’ दिनभर धेरै टाढा टाढा पुगेर घाँस संकलन गरे पनि बिक्री नहुँदा घरको चुल्हो नबल्ने छोट्नाले चिन्ता व्यक्त गरिन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ८ र १३ झन्डै २ सय ५० को हाराहारीमा घँसियाराहरु छन् ।