रेडक्रसकर्मी सुवेदीको दोस्रो कृति ‘खेलबाट सिकाइ’को विमोचन

रेडक्रसकर्मी हरिप्रसाद सुवेदीको पुस्तक विमोचन गरिँदै । फोटो : मेरो खुसी

नेपालगन्ज : रेडक्रसकर्मी हरिप्रसाद सुवेदीको दोस्रो कृति ‘खेलबाट सिकाइ’को विमोचन गरिएको छ ।
नेपाल ट्रेनिङ एण्ड रिसर्च प्रालिले शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख हरि तिमिल्सैना, रेडक्रस बर्दियाका पूर्वसभापति महेश गौतमले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका रेडक्रसकर्मी शर्माले लेखक सुवेदीले २ दशक लामो समय रेडक्रसमा काम गर्दाका अनुभवका आधारमा सबैका लागि उपयोगी पुस्तक प्रकाशित गरेको भन्दै प्रशंशा गरेका थिए । पूर्व प्राज्ञ रेग्मीले तालिम सञ्चालन गर्नेहरुका लागि पुुस्तक हाते पुस्तकको रुपमा रहेको बताएका थिए ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार तिमिल्सैनाले औपचारिक शिक्षा र तालिम सञ्चालन गर्ने वा सिकारुदेखि सिकाउने सबै व्यक्तिका लागि पुस्तक उपयोगी भएको बताएका थिए । उनले भने, ‘पुस्तकले व्यवहार परिवर्तन गर्ने उद्देश्य राखेको छ । यसको प्रयोगबाट शिक्षार्थीको सिर्जनात्मक क्षमता बढाउन मद्दत पुग्नेछ ।’

कार्यक्रममा लेखक सुवेदीले आफूले २०५३ सालमा युवा रेडक्रसबाट काम सुरु गर्दादेखि तालिम लिँदा र दिँदा प्रयोग गरिएका सिकाइ सीपलाई खेलका माध्यममा पुस्तकमा अभिलेखीकरण गरेको बताए । १७० पृष्ठको पुस्तकमा २८ वटा विभिन्न विषयका एक सय ११ वटा खेल समेटिएका छन् । खेल खेल्ने विधि र तरिका पनि पुस्तकमा सिकाइएको छ । लेखक सुवेदीले दाबी गरे, ‘पुस्तकले खेलका माध्यमबाट बोल्ने कला, नेतृत्व विकास, बजारीकरण, टिमवर्क, मोटिभेसन, विपद् व्यवस्थापनलगायतका व्यवहार परिवर्तन गर्ने खेल समावेश छन् ।’

नेपाल रेडक्रस सोसाइटी बर्दियाका पूर्वसभापति महेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाविद् किरण आचार्य, पूर्ण तारा फाउण्डेसनका अध्यक्ष ताराकुमारी रोकाय, शिक्षिका गीता अर्याल र नेपाल ट्रेनिङ एण्ड रिसर्च प्रालिका सदस्य रविन्द्र रेग्मीले लेखक सुवेदीको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा फ्रेन्डस् क्लबका अध्यक्ष समेत रहेका लेखक सुवेदीलाई क्लबले सम्मान गरेको थियो । क्लबका सचिव रविन्द्र रेग्मीलगायतको टिमले संयुक्त रुपमा दोसल्ला ओढाएर र ढाकाको टोपी लगाएर सम्मान गरेका थिए । कार्यक्रममा लेखक सुवेदीले पुस्तक बिक्रीबाट आएको एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेर शोध अनुसन्धानमा क्रियाशील व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गरिने घोषणा गरेका थिए ।