हृदयेश त्रिपाठीको दल पनि समाजवादी हुने !

अवधि पत्रकार संघ नेपालले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री हृदयेश त्रिपाठी । फोटो : मेरो खुसी

नेपालगन्ज : नेपालका राजनीतिक दलमा समाजवादी शब्दको मोह देखिएको छ । उपेन्द्र यादव नेतृत्वको दलको नाम जनता समाजवादी पार्टी छ । यो दल फुटेर महन्त ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताको प्रक्रियामा छ । माधवकुमार नेपाल एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा छन् । स्वतन्त्र राजनीतिक समूहका रुपमा रहेको पूर्वमन्त्री हृदयेश त्रिपाठीले पनि पार्टीको नाम समाजवादी राख्ने भएका छन् ।
अवधि पत्रकार संघ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता त्रिपाठीले आगामी निर्वाचनसम्म नयाँ दल दर्ता भइसक्ने र पार्टीको नाममा समाजवादी जोडिने बताए । ‘पार्टीको नाममा समाजवादी शब्द राख्ने सहमति भएको छ । चार पाँच वटा नामबारे छलफल जारी छ । चाँडै टुंगोमा पुग्छौं’, उनले प्रष्ट पारे, ‘दलको राजनीतिक प्रस्ताव, आर्थिक नीति, सामाजिक र सांस्कृतिक पक्ष कस्तो हुने भन्ने टुंगो लागिसकेको छ ।’
देश बनेपछि मधेसका समस्या पनि हल हुने उनको जिकिर थियो । ‘मधेसका समस्या भनेको देशकै समस्या हो । जबसम्म देश बन्दैन, तबसम्म मधेसका समस्या हल हुन सक्दैनन् । यही हाम्रो पार्टीको ठम्याइँ हो’, पत्रकार सम्मेलनमा नेता त्रिपाठीको भनाइ थियो ।