बाँकेका फनपार्कलाई बैंक ब्याज तिर्न धौ–धौ

सञ्चालक भन्छन् : ‘मापदण्ड पूरा गरेका छौं, फनपार्क नियमित रुपमा सञ्चालन गर्न देउ’
नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँमा ‘मेरो प्लानेट’
मेरो प्लानेटका सञ्चालक पशुपति दयाल मिश्र

नेपालगन्ज : बाँकेमा करोडौं रुपैयाँमा खुलेका फनपार्कको लगानी कोरोनाका कारण जोखिममा परेको छ । जिल्लामा ३५/३५ करोड रुपैयाँको लागतमा कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा ‘ह्याप्पी वर्ल्ड’ र नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँमा ‘मेरो प्लानेट’ नामक दुई वटा फनपार्क सञ्चालनमा छन् ।
सरकारले मनोरञ्जन क्षेत्र खुला नगर्दा महिनैपिच्छे रुपमा बैंकको व्याज तिर्न समस्या भइरहेको सञ्चालकहरुले बताएका छन् । मेरो प्लानेटका सञ्चालक पशुपति दयाल मिश्रले बुधबार पत्रकार सम्मेलनमा सरकारले राहात पनि नदिने र फनपार्क पनि सञ्चालन गर्न नदिँदा बैंक व्याज पनि तिर्न समस्या परेका बताए । उनले भने, ‘३५ लाख रुपैयाँ त मासिक ब्याज नै तिर्नुपर्छ । सरकारले काम गर्न नदिँदा बाँच्न गाह्रो भएको छ ।’ सञ्चालक मिश्र सुरक्षाका मापदण्ड पूरा गर्ने भएकाले पूर्ण रुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गर्छन् ।
साढे तीन बिघा क्षेत्रफलमा ५ हजार क्षमताको फनपार्क पूर्ण रुपमा सञ्चालन नहुँदा खर्चको जोहो हुन नसकेको फनपार्कका महाप्रबन्धक पदम सुवेदीले बताए ।

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा ‘ह्याप्पी वर्ल्ड’

बाँकेको अर्को फनपार्क ‘ह्याप्पी वल्र्ड’ लाई पनि खर्च जुटाउन हम्मेहम्मे परेको छ । फनपार्कका प्रबन्ध निर्देशक विजय भण्डारी (वासु) त कोरोनाबाट मानिसहरु मनोरोगी भइरहेको बेला रिफ्रेसमेन्टका लागि फनपार्क उपयुक्त थलो भएको दाबी गर्छन् । उनी भन्छन्, ‘कोरोनासँग डराएर होइन, कोरोनासँगै जिउन सिक्नका लागि पनि फनपार्क सञ्चालन गर्न दिनुपर्छ । फनपार्कबाट मानिस मानसिक रुपमा स्वस्थ भएर कोरोना जित्न सक्छ ।’ बाँकेको जानकी गाउँपालिकामा पनि अर्को फनपार्क सञ्चालनको अन्तिम तयारी गरिरहेको छ ।