भदौरे झरीमा खजुरा-१ लाई बालविवाह मुक्त वडा घोषणा (फोटो फिचरसहित)

राधापुर : बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर १ लाई पनि बालविवाह मुक्त वडा घोषणा गरिएको छ । भदौरे झरी चलिरहँदा आइतबार राधापुरको सैनिकमा आयोजित कार्यक्रममा मञ्चका अतिथि, कार्यक्रम सञ्चालकदेखि दर्शकदीर्घाले छाता ओढेर घोषणासभा गरिएको थियो ।

खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति र उपाध्यक्ष एकमाया विकको उपस्थितिमा खजुरा-१ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडालाई बालविवाहमुक्त वडा घोषणा गरेकी हुन् । यसअघि २४ चैत्रमा २०७७ मा खजुरा-३ बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।

अध्यक्ष कक्षपतिले खजुरालाई नमूना गाउँपालिका बनाउने अभियान अन्तरगत नमूनाको एउटा सूचक वाल विवाहमुक्त पालिका हुनुपर्ने भएकाले वडापछि पालिकालाई घोषणा गर्ने अभियानमा रहेको उल्लेख गरे । गाउँपालिका उपाध्यक्ष एकमाया विकले सबै वडालाई क्रमशः बालविवाह मुक्त घोषणा गर्दै गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिने प्रतिबद्धता जनाइन् ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले वालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रिय रुपमा लाग्नु पर्ने बताए । खजुरा १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपाने र स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेलगायतले बालविवाह मुक्त समाज निर्माण गर्न नागरिक समाजको साथ र सहयोगको खाँचो औल्याएका थिए । वडा कार्यालयबाट सन्देशमूलक ¥याली निकाली मैटहवा माविमा पुगेर सभामा परिणत भएको थियो ।