नेपालगन्जमा भानुभक्तको शालिक स्थापना

नेपालगन्ज उपमहानगरपालिका–२ न्युरोडको भानुभक्त चोकमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको शालिक 

नेपालगन्ज : चोकमा रहेका राजाका शालिक राख्ने र हटाउने कार्यले विवादित नेपालगन्जमा पहिलो पटक नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २ न्युरोेडमा १२ लाख १५ हजार ९४९ रुपैयाँको लागतमा ढलौटको भानुभक्तको अर्धकदको शालिक स्थापना गरेको हो । नेपालगन्जमा त्रिभुवन चोकमा राजा त्रिभुवन, धम्बोझी चोकमा राजा वीरेन्द्र, वीपी चोकमा वीपी कोइराला, पुष्पलाल चोकमा पुष्पलाल श्रेष्ठ, गणेशमान चोकमा गणेशमान सिंहको शालिक छन् । वीरेन्द्र चोक शालिकविहीन छ । न्युरोडमा सहिद सेतु विकको शालिक छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लुम्बिनी प्रदेश सरकारका वन, वातावरण, भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, लायन्स क्लब डिष्ट्रिक ३२५ एनका गभर्नर सीबी चन्दले शनिबार भानुभक्तको शालिक अनावरण गरेका हुन् । शालिक भएको स्थानको नाम पनि भानुभक्त चोक राखिएको छ । यसअघि सो चोकलाई भानु चोक भनिन्थ्यो । शालिक संरक्षणका लागि व्यवसायी तथा समाजसेवी कृष्णप्रसाद श्रेष्ठलाई भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्षका रुपमा जिम्मेवारी दिइएको छ ।