इन हाउस ६ दिने अनलाइन आधारभूत पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज : कर्णाली २४ डटकम कोहलपुरले आफ्नो मिडिया हाउसमा कार्यरत (इन हाउस) पत्रकारको क्षमता अभिवृद्धिका लागि ६ दिने अनलाइन आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ ।
नवीन आवाज प्रालि कोहलपुरले कर्णाली २४ डटकम सञ्चालन गरेको छ । मेरो खुसी डटकमका सम्पादक तथा अन्नपूर्ण पोस्ट् दैनिकका उप-सम्पादक शंकरप्रसाद खनालले पत्रकारिता, पत्रकारिताका सिद्धान्त, समाचार लेख्ने संरचना, समाचार लेखन, फोटो पत्रकारिता, पत्रकार आचार संहितालगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए । कर्णाली २४ डटकमका सम्पादक सुब्बा मगरले आफ्ना संवाददाताहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरेको बताए । उनले भने, ‘केही साथीहरुले समाचार लेखिरहनु भएको थियो । केही नयाँ संवाददाता हुनुहुन्छ । संवाददाताको क्षमता अभिवृद्धि गरेर गुणस्तरीय समाचार उत्पादन गर्न तालिम आयोजना गरिएको हो ।’ तालिममा बाँके, बर्दिया, कैलाली, सुनसरी र काठमाडौंमा कार्यरत संवाददाताको सहभागिता रहेको थियो ।