नेपालगन्जको एकलैनी क्षेत्रमा भूकम्पको जोखिमबारे अध्ययन हुँदै

सुपर परियोजनाले शहरी विपद् जोखिमबारे नेपालगन्जमा आयोजना गरेको छलफल कार्यक्रम । फोटो सौजन्य : रुपन ज्ञवाली

नेपालगन्ज : तराईको पूरानो सहर नेपालगन्जको पूरानो तथा घना बस्तीमध्येको एक एकलैनी क्षेत्रमा भूकम्पबाट हुने सम्भावित जोखिमबारे अध्ययन हुन लागेको छ ।
युनिसेफसँगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले सुपर परियोजना अन्तर्गत सहरी क्षेत्रको घनाबस्ती रहेका नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.३ र ७ का सबै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने लागेको हो । सर्वेक्षण १५ दिनभित्र सम्पन्न गर्ने गरी तयारी भइरहेको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार नेपालगन्जको एकलैनी, गगनगन्ज, डीएसपी रोड लगाएका क्षेत्रका दुबै वडाका गरी एक हजार एक सय घरहरुमा सर्वेक्षण हुँदैछ । ज्ञवालीले भने, ‘सर्वेक्षणले पहिलो प्राथमिकतामा भूकम्प, दोस्रोमा आगलागी, तेस्रोमा बाढीको समस्याबारे अध्ययन हुनेछ । लामो समयदेखि पश्चिममा भूकम्प नगएकाले पूराना र जीर्ण घर अनि बाक्लो बस्ती जोखिमको उच्च जोखिममा छन् ।’
शुक्रवार नेपालगन्जमा भएको समन्वय बैठककमा सर्वेक्षण बारे जानकारी गराइएको थियो । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राइ, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा, रेडक्रस बाँके शाखाका सभापति गोवर्धनसिंह सझनासमेतको उपस्थितिमा भएको समन्वय बैठकमा २३ बटै वडाका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजना अन्र्तगत जोखीमयुक्त घरहरुको पहिचान गरी नगरभित्र विपद पूर्वतयारी गरी संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन प्रकाश डिसीले बताए ।
रेडक्रस बाँकेका सभापति सझनाले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखिम न्यूनिकरणमा उल्लेख्य भुमिका निभाउने विश्वास व्यक्त गरे । नगरको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले घरहरुको जोखिम पहिचान भइसकेपछि बिमा कार्यक्रमलाई नगरमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्ववारेमा जानकारी गराएका थिए ।