पञ्चायतकालदेखि भन्सारमा लाइन चल्छ : सासद राणा

नेपालगन्ज : बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले भन्सार क्षेत्रमा पञ्चायतकालदेखि अवैध आयातमा संस्थागत रुपमै लाइन चल्ने बताएका छन् ।
दशैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ठंकबहादुर धामीले सीमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएपछि सांसद राणाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरालाई अवैध चोरी निकासी नियन्त्रण गर्न ध्यानाकर्षण गरेका हुन् ।
उनले भने, ‘अवैध आयातमा लाइनको समस्या आजको होइन । पञ्चायतकालदेखि नै छ । सिडियो साप र एसपी साप नयाँ आउनु भएको छ । तपाईहरुबाट लाइनको काम हुँदैन । नियन्त्रणको काम गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश प्रतिनिधिसभा सदस्य मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल राष्ट्र बैंक, नेपालगन्जका उप–निर्देशक रामकुमार कार्की, नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरा, नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राई, एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति,संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल वैश्य, ब्रह्मकुमारी दिदी मुना, नेपाली कांग्रेस जिल्ला सदस्य चक्र अधिकारीले उद्योगी व्यवसायीका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।
संघका अध्यक्ष टंकबहादुुर धामीको अध्यक्षता, प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीको स्वागत मन्तव्य, महिला उपाध्यक्ष मन्दिरा पाण्डेको धन्यवाद ज्ञापन गरेको कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरालाई पनि संघले स्वागत गरेको थियो ।

सोही अवसरमा हरित अभियन्ता हेमन्तराज काफ्लेले बाँकेका प्रजिअ पोखरेल र एसपी बोहोरालाई सितलचिनीको बिरुवा हस्तान्तरण गरेका थिए ।