बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध पश्चिम नेपालका उद्योगी व्यवसायीको १००१ सदस्यीय संर्घष समिति गठन

नेपालगन्ज : बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध पश्चिम नेपालका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा १००१ सदस्यीय संर्घष समिति गठन गरेका छन् ।
नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तिय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी, व्यवसायीहरुले भोग्नु परेका समस्याबारे बाँके र बर्दियाका उद्योगी, व्यवसायीको सहभागितामा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमपछि गठन गरिएको व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिको सदस्य सचिवमा संघका महासचिव भीमबहादुर रानाभाट रहेका छन् ।

संयोजक धामीका अनुसार संघर्ष समितिमा लुम्बिनी प्रदेशको बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीका उद्योगी व्यवसायीहरु समेटिएका छन् । जहाँ पश्चिम नेपालका सम्पूर्ण उद्योेग वाणिज्य संघ, उद्योगी व्यवसायीका संघ संस्था वस्तुगत संघ संस्था ,उद्योगी र व्यवसायीको हक हितमा काम गर्ने संघ संस्था संघर्ष समितिको सदस्य रहनेछन् । समितिमा आवश्यकता अनुसार सदस्य थपिने संयोजक धामीले बताए । संघर्ष समितिको संस्थागत प्रतिनिधित्व हुने गरी ४१ सदस्य सचिवालय पनि गठन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी संरक्षक रहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, सल्लाहकार एंव संरक्षकहरु कन्हैयालाल टण्डन, अच्युतप्रसाद प्रसाई, सतिशचन्द्र अग्रवाल, सुनिलकुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कृष्णा पाठक, शेषकान्त शर्मा, कुबेर रिजाल, जीवनाथ सापकोटा र शर्मिला खत्री, त्यसैगरी उद्यमी व्यवसायीहरु दुर्गाप्रसाद भण्डारी, मुरलीधर मिश्र, विष्णु खनाल, भोजराज तिमिल्सेना र सलाउद्दिन जसगढलाई सल्लाहकार चयन गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बाँके र बर्दियाका उद्योगी व्यवसायीका संघ संस्थाले बैंक तथा वित्तीय संस्था, खुला सीमा र सरकारका अव्यवहारिक नीतिबाट भोग्नु परेका समस्याबारे सुझाव संकलन गरिएको थियो ।