बर्दिया निकुञ्जका बाघलाई कोरोनाको खतरा

नेपालगन्ज : राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया संरक्षण कार्यालयका प्रमुख डा.रविन कडरियाले कोरोनाका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ संरक्षणमा चुनौती देखिएको बताएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटन’ विषयक कार्यशाला गोष्ठीमा डा.कडरियाले भारतमा वन्यजन्तुमा कोरोना देखिएकाले निकुञ्जका वन्यजन्तुमा सर्नसक्ने खतरा औंल्याए । भारतीय कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दियाको सीमासँग जोडिएको छ । मधुवन नगरपालिका क्षेत्रमा पर्ने खाता जैविक मार्ग र गेरुवा गाउँपालिका क्षेत्रबाट पाटे बाघहरु नेपाल–भारत ओहोरदोहोर गर्छन् । भारतीय आरक्षमा २८ वटा पाटे बाघ छन् भने खाता जैविक मार्ग क्षेत्रमा ६ वटा पाटे बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा भने ८७ वटा पाटे बाघ छन् । अहिले बाघको संख्या बढ्दो क्रममा छ ।
डा.कडरिया भन्छन्, ‘यो क्षेत्रमा वन्यजन्तुको ओहोरदोहोर भइरहन्छ । भारतका वन्यजन्तुमा कोरोना देखिएकाले यहाँका वन्यजन्तुमा पनि सर्ने खतरा छ ।’ गत वैशाखको तेस्रो साता भारतको तेलंगाना राज्यको नेहरु जुलजिकल पार्कका ४ भाले र ४ पोथी सिंहमा कोरोना पुष्टि भएको थियो । त्यसअघि अमेरिकामा पनि ८ वटा बाघ र सिंहमा कोरोना संक्रमण पुष्टि भएको थियो । अमेरिकाकै ओहिओ प्रान्तमा जंगली जनावरमा पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको छ ।