भस्त्रिका प्राणायाम : लाभदायी 

कोरोना भाइरसले फोक्सोमा संक्रमण गर्छ । भस्त्रिकाबाट शरीरका सबै अङ्गमा अक्सिजन पुगेर कोष सक्रिय हुन्छन् अनि रोगप्रतिरोधात्मक क्षमता बढेर कोरोनासँग लड्न सकिन्छ

व्यस्त जीवनशैलीले हामी योग र ध्यानका लागि समय दिन सकिरहेका छैनौं । योेग-ध्यान त हाम्रो जीवन पद्दतीको अभिन्न पाटो नै हो । नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन हामी अहिले होम क्वारेन्टाइनमा छौं । कोरोनाबाट जोगिनका लागि र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न योगबाट दैनिकी सुरु गर्नसक्छौं । मेरो खुसी डट कमले तपाईलाई योग र ध्यानबारे क्रमशः जानकारी दिनेछ । कुनै पनि योग, प्राणायाम र ध्यान गर्नुअघि शरीरलाई लचकदार बनाउन कम्तीमा ५ दिने १० मिनेटसम्म सुक्ष्म व्यायामहरु गर्नुपर्छ । कुन-कुन व्यायाम, कुन विधिमा कसरी गर्ने भन्नेबारेमा हामीले होम क्वारेन्टाइन योग प्याकेज-१ मा उल्लेख गरिसकेका छौं । यो पनि पढ्नुस् कोरोनासँग जुध्न नाडी शोधन प्राणायाम  त्यसैले अघिल्लो अंक पढेर मात्र भस्त्रिका गर्न जरुरी छ । –सम्पादक

भस्त्रिकाबाट लाभ
भस्त्रिका स्वासप्रश्वास सम्बन्धी प्राणायाम हो । यसमा लामो र गहिरो स्वास लिने र छोड्ने गरिन्छ । पतञ्जलीका योग प्रशिक्षक गौरीशंकर मण्डलका अनुसार सामान्य रुपमा स्वास लिँदा शरीरको एक तिहाइ भागमा मात्र अक्सिजन पुग्छ । प्राणायामहरु गर्दा शरीरभित्र धेरैैभन्दा धेरै अक्सिजन पुग्छ । शरीरका धेरै कोषमा अक्सिजन पुग्दा कोषहरु सक्रिय हुन्छ । कोष सक्रिय हुँदा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । मण्डल आयुर्वेदमा शरीरमा वाथ, पित्त र कफ नै रोगको कारण हुने उल्लेख भएको बताउँछन् । शरीरमा ८० प्रकारका रोग बाथबाट, ४० प्रकारका रोग पित्तबाट र २० प्रकारका रोग कफका कारण हुन्छन् । नियमित रुपमा प्राणायाम गर्दा यी रोगबाट मुक्ति पाइन्छ । उनी भस्त्रिकाबाट फोक्सोको कार्य क्षमता बढाउने बताउँछन् । फोक्सो कमजोर भएर दमलगायतका स्वासप्रश्वास सम्बन्धी रोग लाग्छन् । ‘मुटु र मस्तिष्कलाई फाइदा पुग्छ । थाइराइड, टन्सिल निको हुन्छ । शरीरभित्रका कार्बनडाइअक्साइड जस्ता विजातीय तत्व बाहिर निकालेर फाल्छ’, उनको भनाइ छ । द आर्ट अफ लिभिङ बरिष्ठ योग प्रशिक्षक कञ्चन घिमिरे भस्त्रिकाबाट आधा टाउको दुख्ने, माइग्रेन र पिनास रोग निको पार्ने दाबी गर्छन् । ‘नाकको एलर्जी र आछ्यु आउनेहरुले नियमित रुपमा गरेमा लाभ मिल्छ । बालबालिकाहरुको मेमोरी बढाउन मद्दत मिल्छ’, उनले ३० वर्षको योगाभ्यासको अनुभव सुनाए । काठमाडौंको नेपाल योग होमका योगाचार्य आनन्द प्रकाश भस्त्रिकालाई रगत शुद्ध गर्ने विधि मान्छन् । उनी भन्छन्, ‘भस्त्रिकाबाट नसा र नाडीका अवरोधहरु खुला हुन्छ । रक्तनलीहरु खुलाइदिन्छ ।’

विधि
योग र प्राणायामहरु बिहान खाली पेटमा गर्नुपर्छ । सूर्योदय हुनुभन्दा अघि गर्नु सबैभन्दा उत्तम मानिन्छ । खाना खाएको ३ देखि ४ घण्टापछि पनि गर्न सकिन्छ । भस्त्रिका प्राणायाम सजिलोसँग बसेर गर्न सकिन्छ । बस्दा ढाडको हड्डी, घाँटी र गर्दन भने सिधा राख्न अनिवार्य हुन्छ । पद्मासन, अर्धपद्मासन, सुखासन (पलेँटी कसेर) गर्न सकिन्छ । पद्मासनमा बस्नेले दुबै हात तिघ्रामा ध्यान मुद्रा (चिनमुद्रा) मा राख्ने वा हत्केलालाई आकासतिर फर्काएर राख्नुपर्छ । द आर्ट अफ लिभिङले भने बज्रासनलाई अनिवार्य आसन मानेको छ ।
भस्त्रिका गर्ने विधि विभिन्न अध्यात्मिक संस्था पिच्छे फरक–फरक छ । भस्त्रिका गर्न आँखा बन्द गर्नुपर्छ । भस्त्रिका गर्नु अघि एक वा दुई पटक लामो स्वास लिने गर्नुपर्छ । जुन गतिमा स्वास लिएको हो सोही गतिमा छोड्दै आफ्नो शरीरको अवस्था अनुसारको गतिमा भ्रस्टिका गर्नुपर्छ ।

आर्ट अफ लिभिङका प्रशिक्षक घिमिरेका अनुसार बज्रासनमा बस्ने । तिघ्रामाथि हत्केलालाई आकासतिर फर्काएर राख्ने । त्यसपछि भस्त्रिकाका लागि दुबै हातको हल्का मुठ्ठी पार्ने । र हत्केला नजिक मोडेर राख्ने र स्वास लिँदै लिँदै हात माथि उठाउने र माथि लगेर मुठ्ठी खोल्ने र हात तल झार्दै स्वास पनि छोड्ने । यही प्रकारले १५ देखि २० स्वास लिँदा र छोड्दा एक राउण्ड हुने घिमिरे बताउँछन् । एक राउण्ड पूरा भएपछि विश्राम गर्ने । विश्राम गर्दा तिघ्रामाथि हत्केलालाई आकासतिर फर्काएर राख्ने गर्नुपर्छ । यस्तो प्रक्रिया तीन पटकसम्म गर्नुपर्ने बताउँछन् । उनका अनुसार १८ वर्षदेखि माथिका जो कोहीले २०-२० पटक तीन राउण्डसम्म गर्नुपर्छ । ८ वर्षदेखि १६ वर्ष बढी उमेर समूहका व्यक्तिले १५-१५ पटक तीन राउण्ड मात्र गर्नुपर्छ । आर्ट अफ लिभिङ वाहेकका अध्यात्मिक संस्थाले भने पद्मासन वा सुखासनमा बसेर स्वास लिने र छोड्ने गर्छन् । उनीहरु हातलाई ध्यान मुद्रामा राखेर बस्छन् । योगाचार्य आनन्द क्रमशः बढाउँदै बढाउँदै १०-१२ मिनेटसम्म गर्न सकिने र पतञ्जलीका मण्डल पनि शरीरको अवस्था अनुसार ५ मिनेटदेखि १५ मिनेट गर्न सकिने बताउँछन् ।

द आर्ट अफ लिभिङ योग प्रशिक्षक : निशा तिमिल्सेना

मण्डलका अनुसार जुनसुकै प्राणायाम मन्द, मध्यम र तिब्र गतिमा गर्न सकिन्छ । ‘जाडो याममा तिब्र गतिमा गर्दा शरीरमा तापक्रम बढ्नु राम्रो हो तर गर्मी महिनामा धेरै छिटो गतिमा गर्दा शरीरमा तापक्रम बढ्न सक्छ’, उनले भने । घिमिरे सकेसम्म प्राणायाम विस्तारै गरेको नै लाभदायक मानिने दाबी गर्दै भन्छन्, ‘तिब्र गतिमा गर्दा कानको जाली पनि फुट्न सक्ने खतरा पनि हुन्छ ।’ यो विधिले शरीरका हरेक कोषमा अक्सिजन जाने बाटो सफा गर्छ । फोक्सो सफा हुन्छ । फोक्सो शुद्ध गर्ने यो प्राकृतिक विधि हो ।

क-कसले नगर्ने
भस्त्रिका सबैले गर्न मिल्छ । शारीरिक अवस्था अनुसार गति भने नियन्त्रण गर्न जरुरी हुन्छ । मण्डल जुनसुकै प्राणायाम मन्द, मध्यम र तिब्र गतिमा गर्न सकिन्छ । शरीरको अवस्थाले थेग्न नसक्नेहरुले मन्द गतिमा मात्र गर्नुपर्छ । यसलाई विस्तारै बढाउँदै मध्यम गतिसम्म पुग्न सकिन्छ । योग प्राणायाम गर्नेले आफ्नो शरीरको अवस्थालाई ध्यान दिनुपर्ने कञ्चन बताउँछन् । उनी भन्छन्, ‘आफ्नो शरीरको भाषा अरुले बुझ्दैन । आफैले बुझेर योग र प्राणायाम गर्नुपर्छ ।’ युवाहरुले तिब्र गतिमा पनि गर्न सक्छन् । योगाचार्य आनन्द बृद्ध र अशक्तलाई मन्द गतिमा गर्न सुझाव दिन्छन् । मुटु रोगी, ब्लड प्र्रेसर र दमका रोगीले तिब्र गतिमा गर्न हुँदैन । विस्तारै गर्नुपर्छ । ज्वरो आएको व्यक्तिले पनि गर्न मिल्दैन ।
(मेरो खुसी डटकमले योग, प्राणायाम र ध्यानको लाभका विषयका सामग्री प्रकाशित गर्छ । यसको अभ्यास गर्दा योग प्रशिक्षकसँग अनिवार्य परामर्श लिनुहोला । –सम्पादक)