एउटै चोकमा सेवा र कडा सुरक्षा !

नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा बिहीबार दिउँसो एक जना यात्रीले टक्क मोटरसाइकल रोके । चोकको पश्चिमतिर खजुरा जाने मोडको बायाँ किनारमा निलो रंगको टेन्टभित्र बसेकी जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख सइ श्यामकुमारी मगरले एक बोतल पानी ल्याइएर दिइन् । नेपालगन्जमा ३३.५ डिग्री सेल्सियसको तापक्रम थियो । युवाले पानी खाए । ‘भोक पनि लागेको छ । अरु केही खान पाइँदैन’ भनेर युवकले जिज्ञासा राखे । मोटरसाइकलमा हिँड्ने उनी अलपत्र यात्री थिएनन् । बरु लकडाउन उल्लंघनकर्ता भएको कुरा अलिकति अगाडि बढ्दै गर्दा चोकमा बसेका सुरक्षाकर्मीले बिना पास किन हिँडेको भन्दै रोकेपछि थाहा भयो । सुरक्षाकर्मीले युवालाई केहीबेर चोकमै केरकार गरे । धम्बोझी चोकमा एकैदिन, एकैछिनमा युवाले सुरक्षाकर्मीको दोहोरो व्यवहार अनुभूति गरे । यी दुबै व्यवहार यात्रीकै हितका लागि सुरक्षाकर्मीले गरेका थिए । अरु दिनभन्दा सुरक्षाकर्मी लकडाउन पालनामा कडाइका साथ लागेको थियो ।
‘अलपत्र यात्रीका लागि पानी, बिस्कुट र चाउचाउ दिने गरेका छौं’, सेवा केन्द्रकी प्रमुख मगरले अनुुभव सुनाइन्’, ‘समस्यामा परेकाहरुको सेवा गरिरहेका छौं । केन्द्रलाई खाद्यवस्तु सहयोग गर्न हरेक दिन कोेही न कोही आउनु हुन्छ ।’ केन्द्रलाई सहयोेग गरेर टेन्टभित्र सेवाका लागि हाजिर थिए, उद्यमी महिला डिला शाह, लुम्बिनी गार्मेन्टकी कश्मीरा खातुन र ठकुरी पत्रकार समाजकी अध्यक्ष करुणा शाह । उनीहरुले बिहीबार चाउचाउ, बिस्कुट र पानी सहयोग गरेका थिए । सहयोगसँगै सेवाका लागि उनीहरु बसेका थिए । सबैले एउटैै स्वरमा भने, ‘समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्न पाउनुभन्दा ठूलो अर्को धर्म के हुन्छ होला ? आज हामीले सहयोग गरेका छौं । भोलि तपाईहरु पनि सहयोग गर्न आउनु होला ।’
७ वैशाखदेखि प्रहरीले धम्बोझी चोकमा सेवा केन्द्र स्थापना गरेको छ । केन्द्रले दैनिक दुई तीन सय जनालाई सेवा गरिरहेको जनाएको छ ।