नेपालगन्ज भन्सारद्वारा ८८ प्रतिशत मात्र राजश्व असुली

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष ०७८र०७९ मा लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजश्व असुली गरेको छ । सरकारले बैंकिग कारोवारमा कडाइलगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण भन्सारले राजश्व भेटाउन नसकेको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत नवकुल शर्माले बताए ।
भन्सार अधिकृत शर्माका अनुसार २५ अर्ब २१ करोड २६ लाख ६२ हजार राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख अर्थात ८८.५ प्रतिशत मात्र असुली गरेको हो । यो असुली अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्ब ८ करोड ७९ लाखले बढी भए पनि गत आर्थिक वर्षको लक्ष्य भन्दा २ अर्ब ९० करोडले घटी भएको उनले बताए । ‘गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा राजश्व असुली बढी संकलन भएको छ’ उनले भने ‘लक्ष्य बढी भएकाले लक्ष्य अनुसार भने हामी पुग्न सकेनौ ।’ सरकारले बैंकिग कारोबारमा कडाइ लगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण भन्सारले राजश्व भेटाउन नसकेको भन्सार अधिकृत शर्माले जिकिर गरे ।