नेपालमै सबैभन्दा बढी वर्षा बाँकेको खजुरामा

नेपालगन्ज : जल तथा मौसम विज्ञान विभागले बुधबार नेपालमै सबैभन्दा बढी वर्षा बाँकेको खजुरामा भएको जनाएको छ । विभागको जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंका मौसमविद् हिरा भट्टराईका अनुसार बाँकेको खजुरा क्षेत्रमा बुधबार दिउँसो २ः३० बजेसम्म १२ घण्टाको अवधिभित्र १६०.६ मिलिमिटर वर्षा भएको हो । खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ भारी वर्षापछि खजुरा क्षेत्रका बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकनमा पुगेका थिए ।

खजुराको डुबान प्रभावित क्षेत्रको अवलोकन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ । फोटो : अख्तर खानको फेसबुकबाट

नेपालगन्जमा बिहान ८ बजेसम्म ८६ मिलिमिटर र खजुरामा १०४ मिलिमिटर वर्षा भएको थियो । भारी वर्षा भएपछि नेपालगन्ज उप–महानगरपालिका–२ घरवारी टोल, न्यूरोड, वडा नं. १२ बेलासपुरलगायत नगरका धेरै स्थान डुबानमा परेका थिए । घरबारी टोलका धेरै पसलमा पानी पसेको थियो ।

नेपालगन्जको घरबारी टोल डुबानमा । फोटो सौजन्य : निशु जोशी

जल तथा मौसम विज्ञान विभागका अनुुसार एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटर वर्षा भएमा भारी वर्षा भएको मानिन्छ । विभागले देशका २२८ स्थानमा वर्षाको रेकर्ड राख्ने गरेकोमा बुधबार सबैभन्दा बढी वर्षा बाँके र त्यसपछि बर्दियामा भएको देखाएको छ । बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा १०५.४, बारबर्दिया नगरपालिकामा पर्ने रानीजरुवा नर्सरीमा १०३.८ र बारबर्दियाकै रम्मापुर क्षेत्रमा ८५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

वर्षापछि खजुरामा बस्तीमा पसेको बाढी । फोटो : ऋषि पोखरेलको फेसबुकबाट

जल तथा मौसम विज्ञान विभागले बाँके र बर्दियामा भारी वर्षा भएपछि बिहान ८ः५० बजे मोबाइलमा एसएमएस पठाएर बाढी प्रभावित क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको थियो ।बाढी वर्षापछि किसान भने खुसी भएका छन् । बाँकेका झन्डै आधा किसानले रोपाइँ गर्न पाएका थिएनन् भने रोपाइँ गरेको खेत पनि घामले चिरा पर्न थालेको थियो ।

वर्षापछि खजुरामा बस्तीमा पसेको बाढी । फोटो : ऋषि पोखरेलको फेसबुकबाट