सांसद नमुनाद्वारा सुख्खाग्रस्त नरैनापुरमा सिँचाइका लागि डिप बोरिङको शुभारम्भ

नेपालगन्ज : बाँकेको सुख्खाग्रस्त क्षेत्र नरैनापुर गाउँपालिकामा वैकल्पिक सिँचाइका लागि डिप बोरिङ गाड्न सुरु भएको छ । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको काम भने जारी नै छ ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले आइतबार नरैनापुर-१ बिर्तामा डिप बोरिङ गाड्ने कामको शुभारम्भ गरेकी हुन् । आकासे पानीको भरमा रोपाइँ गर्ने नरैनापुर क्षेत्रमा योे वर्ष समयमै वर्षा नहुँदा १० प्रतिशत मात्र रोपाइँ भएर सबै खेत बाँझै भएको थियो । सांसद नमूनाले संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई सुख्खाग्रस्त क्षेत्र नरैनापुर क्षेत्रको अवलोकन गराएर बजेटका लागि पहल गरेकी थिइन् । उनले प्रदेश सरकारमार्फत पनि सिँचाइका लागि पहल गरेकी थिइन् । सांसद नमूना भन्छिन्, ‘अर्थमन्त्री प्रभाकरको प्रतिबद्धता अनुसार नै संघीय सरकारबाट र प्रदेश सरकारबाट नरैनापुरमा डिप बोरिङ गाड्न बजेट विनियोजन भएको छ ।’ नरैनापुरका ६ वटा वडामध्ये हरेक वडामा चार चार वटाका दरले २४ वटा डिप बोरिङ गाडिनेछन् ।
धान बाली र गहुँ खेती मात्र गरिरहेका नरैनापुरबासीले बोरिङबाट सिँचाइ सुविधा पाएपछि अब तीन बाली लगाउनसक्ने सांसद नमूनाको भनाइ छ । उनले मेरो खुसीसँग टेलिफोन सम्पर्कमा भनिन्, ‘पहिले हिउँदे र वर्खेबाली लगाउने किसानले अब बाह्रैमास फरक फरक खेती गर्न पाउनेछन् । मौसमी र बेमौसमी तरकारी लगाएर पनि आम्दानी गर्न सक्नेछन् ।’ उनले नरैनापुरलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्न आफूले जनताको सुख, दुःखमा सधैं रहने प्रतिबद्धता जनाएकी छन् ।