होसियार ! टीकापुरमा पनि भेटिए एक हजारका १७ नक्कली नोट

मानबहादुर ठकुल्ला । टीकापुर
बाँकेको नेपालगन्जमा ५६९ वटा नक्कली एक हजारको नोट फेला परेको एक साता पनि नबित्दै कैलालीको टीकापुरमा पनि एक हजारको नक्कली १७ वटा नोटसहित २ जना पक्राउ परेका छन् ।
शनिबार बिहान ६ः३० बजेको समयमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नं. १ शिव मन्दिर नजिक सडक किनारमा रहेको ठेला पसलमा नेपाली एक हजारको नक्कली नोट दिइ सामान खरिद गरिरहेको अवस्थामा टीकापुर नगरपालिका वडा नं. २ विजयनगर शिविर बस्ने वर्ष २३ को तपेन्द्रबहादुर शाहीलाई फेला पारी चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको खल्तीमा लुकाइछिपाइ राखेको अवस्थामा एक हजारका नक्कली १७ वटा नोट बरामद भएको हो ।
नेपाली एक हजारको दुबैतर्फी रंगिन प्रिन्ट गरी नजोडेको नोट थान १२, एक तर्फी प्रिन्ट गरेको नोट थान १ र दुबैतर्फ प्रिन्ट गरी जोडेको नोट थान चार वटा नक्कली नोट फेला पारी बरामद गरी शाहीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी उद्बव भाटले जानकारी दिए । शाहीलाई प्रारम्भिक सोधपुछ क्रममा उक्त बरामद नक्कली नोटहरु टीकापुर नगरपालिका वडा नं. २ विजयनगर शिविर बस्ने वर्ष ३६ को हरिप्रसाद चौधरीले सञ्चालन गरेको एचपी डिजिटल फोटो स्टुडियोमा रहेको रंगिन प्रिन्टर मेसिनबाट तयार गरेको हुँ भनी बताए पश्चात निज चौधरीलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबारे मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धि कसुरमा कैलाली जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि अनुसन्धान भइरहेको टीकापुर प्रहरीले जनाएको छ ।