गर्मीमा पनि कोरोनाको जोखिम उत्तिकैै हुन्छ

रक्सी खाँदा कोरोना भाग्छ भन्नेमा कुनै वैज्ञानिक आधार छैन

 

डा.राजन पाण्डे : प्रमुख, मेडिसिन विभाग भेरी अस्पताल

नोबेल कोरोना भाइरस भनेको के हो ?

कोरोना भाइरस सानो एउटा जिवाणु हो । ब्याक्टेरिया भन्दा पनि सानो । ब्याक्टेरियालाई किटाणु भन्छौ यसलाई जिवाणु भन्छौ । यो पुरानै भाइरस हो । यसका विभिन्न प्रजातिहरु छन् । तिनले विभिन्न कालखण्डमा महामारी ल्याएका छन् । अहिले गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएर जुन कोभिड १९ भन्ने कारोना भाइरसको एक प्रकारको रोग हो । यसको वैज्ञानिक नाम सार्स कोभ २ हो । कोभिड १९ चाँही रोगको नाम हो भने सार्स कोरोना भाइरस २ भनेको चाँही अहिलेको यो विश्वमा माहामारी फैलाएको भाइरस हो ।

यो रोगका लक्षणहरु के–के हुन्छन ?
सामान्यतया कोरोना भाइरसले १०४ डिग्रीभन्दा बढी ज्वरो आउने, सुख्खा खोकी लाग्ने, शरीर दुख्ने समस्या र कसै कसैलाई स्वासप्रस्वासमा समस्या भएर मृत्यु समेत हुनसक्छ ।

यो रोगको उपचार के हुन्छ ?
अहिलेसम्म कोरोना भाइरसको औषधी र भ्याक्सिन पत्ता लागेको छैन । त्यसैले यसको उपचार नै सम्भव छैन ।

रोगबाट कसरी जोगिने त ?
विश्व स्वास्थ्य संगठनले टेस्ट टेस्ट टेस्ट भनेको छ । कुनै पनि रुघाखोकीको विरामी आयो भने टेस्ट गर्नुप¥यो । विशेष गरी कोरोना भाइरस प्रभावित देशवाट यात्रा गरी आएका वा ती ब्यक्तिसँग दुई हप्ताभित्र सम्पर्कमा रहेनु भएन । ज्वरो आउने, खोकी लाग्ने स्वासप्रस्वास समस्या छ भने टेस्ट गर्नुप¥यो । दोस्रो कुरा सामान्य रुघाखोकी लागेको छ भने पनि बिरामीहरु सेल्फ आइसोलेसनमा घरमै बस्ने । समुदायको सम्पर्कमा नआउने । तेस्रो कुरा यदि कोरोना भाइरसको बिरामी छ भनेपछि उसलाई आइसोलेसनमा उपचार गर्नुप¥यो । त्यस्तो ठाउँबाट यात्रा गरेर आएका मान्छेहरु छन् भने उनीहरु कम्तीमा दुई हप्ता क्वारेन्टाईनमा बस्नु प¥यो । राम्रोसँग साबुन पानीले हात धुने, एन ९५ मास्क लगाउने, सुरक्षित कपडा, ग्लोवहरु लगाउने र अल्कोहलवेस एन्टीसेप्टीक प्रयोग गर्नुपर्दछ ।

के रक्सी खाएर कोरोना भगाउन सकिन्छ त ?
अल्कोहल (रक्सी) वेस्ट एन्टीसेप्टिकले हात सफा गर्दा किटाणु मर्ने अलग कुरा हो । रक्सी खाएर बाँचिने, रक्सीले कोरोना भाइरस मर्ने भन्ने कुरामा कुनै वैज्ञानिक आधार छैन । रक्सी खानेलाई कोरोना रोग लाग्दैन भन्ने कुनै वैज्ञानिक रुपमा प्रमाणित भएको छैन । यो भ्रामक कुरा हो । बरु रक्सीले मृत्युदर बढ्न सक्छ ।

गर्मी धेरै भयो भने कोरोनाका किटाणु आफै मर्छन् भन्ने कुरा साँचो हो ?
गर्मी लागेपछि कोरोना कम हुन्छ भन्नेमा पनि वैज्ञानिक आधार छैन । सामान्य सिद्धान्ततः गर्मीले किटाणु मर्छ भन्ने कुरा अलग कुरा हो । तर डब्लुएचओले गर्मीले कम हुन्छ भन्ने कुरा त्यसरी प्रमाणित गर्न सकेको छैन । अमेरिकामै करिव १८ महिनासम्म संक्रमण रही रहन्छ भन्ने कुरा आएको छ । कोरोनाको संक्रमण जाडो र गर्र्मीसँग कुनै सरोकार राख्दैैन ।

अहिलेसम्म कोरोनाबाट कस्ता कस्ता ब्यक्ति बढी जोखिममा परेका छन् त ?
चीनको वुहान, इटली, इरान र युरोपतिरको अनुभवमा ६० वर्षभन्दा माथिका बृद्ध उमेरका त्यसमा पनि दीर्घरोगीहरु दम, मधुमेह, मुटु रोगी र क्यान्सरका बिरामीहरु जस्ता कडा खालका रोग लागेका बिरामीहरुको मृत्यु भएको छ । बच्चाहरुको मृत्युदर एकदमै कम देखिएको छ । मृत्यु हुनेमा ९० प्रतिशत मानिसहरु ५० बर्ष भन्दामाथि र दीर्घरोगी पाइएको छ ।

भनेपछि नियमित उपचार गराउन अस्पताल आउने दीर्घरोगी पनि होसियार हुनुपर्छ ?
सुगर, प्रेसर, दम र दीर्घरोगका विरामीहरु जस्ले लामो समयदेखि औषधि खाइरहनु भएको छ । उहाँहरु फलोअपका लागि अस्पताल जाने होइन । इमरजेन्सी परेको बेला त जानुप¥यो । अनावश्यक अस्पतालको भीँडभाडमा गएर अरु ज्वरो आएको विरामीसँग सम्पर्कमा नआउँनु नै राम्रो हुन्छ । जुन औषधी खाएको छ औषधी खाइरहने र आफ्नो नजिकको स्वास्थ्यकर्मीसँग सुगर, प्रेसर चेक गराउने परामर्श लिने र अनावश्यक अस्पतालको भीँडवाट बच्न सक्यो भने कोरोनाको संक्रमणवाट जोगिन सकिन्छ । किनभने बृद्ध उमेरमा त्यस्ता व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुनाले कोरोनाको जोखिममा पर्ने खतरा हुन्छ ।

उनीहरुले के गर्नुपर्छ ?
कोरोनाको त्रास विश्वमै छ । यसलाई हामीले गम्भीर रुपमा बुझ्नुपर्छ । मजाकको रुपमा लिनुहुँदैन । सकभर अनावश्यक काममा घरबाट बाहिर नजाने । रुघाखोकी, ज्वरो आएको व्यक्तिको सम्पर्कबाट टाढै बस्ने । कही सम्पर्क भैहाल्यो भने राम्रोसँग साबुन पानीले हात धुने, आफू र आफ्नो परिवारका व्यक्तिहरु अनावश्यक यात्रामा निस्कनु हुँदैन । कोरोना रोग लाग्यो भने यसको उपचार नै छैन । न खोप छ न औषधी नै । कुनै औषधी खाएर निको हुन्छ भन्ने कुरा भ्रामक मात्र हो । त्यस्ता औषधिले निको हुने कुनै वैज्ञानिक आधार छैन । ज्वरो आउँदा आराम गर्ने प्रसस्त झोल खानेकुराहरु खाने र सकभर दुई हप्तासम्म घरपरिवारको सम्पर्कमै नआउने । सकिन्छ भने शौचालय पनि छुट्टै प्रयोग गर्ने । सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइन नै ठूलो विकल्प हो ।

एक अर्कासँग भेट गर्दा कोरोनाबाट कसरी जोगिने ?
भेट हुँदा हामी अंगालो हाल्छौं । हात मिलाउँछौं । अब त्यो सबै छोड्नु पर्यो । किन भने कोरोना संंक्रमितलाई छुँदा पनि सर्छ । युरोप र अमेरिकामा भेट हुँदा हग र किस गर्ने चलन भएका देशमा पनि नमस्कार लोकप्रिय भइरहेको छ । हाम्रो त साँस्कृतिक हिसाबले नमस्कार गर्ने संस्कृति छ । टाढैबाट नमस्कार गर्ने । भीँडभाड कम गर्नु, अर्को ब्यक्तिसँगको सम्पर्कलाई कम गर्नु र अन्य व्यक्तिसँग कम्तीमा एक मिटरको दुरी राख्नु नै राम्रो उपाय हो ।