आकर्षक सुरुवात गर्दै सम्पन्न भयो सडक खाना महोत्सव

नेपालगन्ज : नेपालगन्जमा जारी तीन दिने सडक खाना महोत्सव आइतबार सम्पन्न भएको छ ।
नेपालगन्ज १ वाटरपार्क परिसरमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँकेले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ आकर्षक सुरुवात र आन्तरिक पर्यटन प्रबद्र्धनमा सम्भावना देखाउँदै सम्पन्न भएको हो ।
होटल संघ नेपाल बाँकेका बरिष्ठ उपाध्यक्ष केशवराज न्यौपानेका अनुसार महोत्सव अवधिभर १५ हजार बढीले अवलोकन गरे । होटल व्यवसायी संघ बाँकेका प्रेस सल्लाहकार झलक गैरेले त झन्डै ३५ हजारले महोत्सव अवलोकन गरेको दाबी गरेका छन् ।
कार्यक्रमले विषयगत रुपमा महोत्सव आयोजना गर्दा जनसहभागिता स्वतः जुट्छ । आन्तरिक पर्यटन प्रबद्र्धनमा यहाँका स्टार होटल सडकबाट सेवा दिनसक्छन् भन्ने सन्देश गएको छ ।
रसियन महिला कलाकारको अर्धनग्न नृत्यले मध्यरातमा मदिराको नसामा लठ्ठ ब्यक्तिले राम्र्रै भने पनि आमनागरिकले भने आलोचना गरे । आयोेजकका लागि अर्को पटकका लागि पक्कै शिक्षा मिलेको हुनुपर्छ ।
महोत्सवमा खुलेयाम मदिरा सेवनले ग्याङ फाइटको तहसम्म पुग्यो । खानाका परिकारलाई भन्दा अल्कोहलजन्य पेय पदार्थलाई आयोजकले प्राथमिकता दिएको भनेर सामाजिक सन्जालमा टिप्पणी भएका छन् । रैथाने खानाको स्टल अझै पर्याप्त हुन नसकेकोबारे आयोजकले बुझेकै हुनुपर्छ ।
यति भव्य कार्यक्रममा प्रवेश शुल्क हटाउन सकेको भए अझ सुनमा सुगन्ध हुन्थ्यो कि ?








