डुडुवा गाउँपालिकाले मिडिया काउन्सिल गठन गर्दै !
नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले पनि मिडिया काउन्सिल गठन गर्ने तयारी गरेको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाको सञ्चार नीतिमा नगर मिडिया काउन्सिलको व्यवस्था गरेको थियो । उपमहानगरपालिकाले काउन्सिल भने गठन गरिसकेको छैन ।
डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा मिडिया नीति २०८३ को मस्यौदामा मिडिया काउन्सिल गठन गर्ने कुरा उल्लेख गरिएको छ । काउन्सिलमार्फत मिडिया विकास कोष, लोककल्याणकारी विज्ञापन, मिडिया अभिलेखीकरण, मिडिया विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने गाउँपालिकाको तयारी रहेको मस्यौदा समितिका सदस्य राकेशकुमार मिश्रले जानकारी दिनुभयो । मस्यौदाबारे बिहीबार बाँकेका पत्रकारसँग परामर्श लिइएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरी र सूचना अधिकारी सञ्जयकुमार कर्णले पत्रकारले दिएका सुझावका आधारमा मिडिया नीतिको मस्यौदालाई परिमार्जन गरिने प्रतिबद्धता जनाउनु भएको थियो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले मिडिया नीति बनाउन लागेकोमा गाउँपालिकालाई धन्यवाद दिनु भएको थियो । नीति बनाएर मात्र केही नहुने भन्दै उहाँहरुले कार्यान्वयन हुने खालको नीति बनाउन सुझाव दिनु भएको थियो ।








