१५९औं रामलीला महोत्सव भोलिदेखि नेपालगन्जमा हुँदै

नेपालगन्ज : बाँकेमा १५९औं रामलीला महामहोत्सव नेपालगन्जमा आइतबारदेखि सुरु हुँदैछ ।
रामलीला सञ्चालक समितिले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी ऐतिहासिक रामलीलाको १५९ औं शृंखलालाई यो वर्ष महामहोत्सवका रुपमा मनाउन लागेको समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।
आइतबार दिउँसो २ बजे शोभायात्रा गरेर औपचारिक उद्घाटन राति ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्ने कार्यक्रम रहेको छ । हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन हुनेछ । सन् १९२५ देखि नेपालगन्जमा निरन्तर रुपमा रामलीला हुँदै आएको छ ।
बडा दशैंको पावन अवसरमा बाँके बगीया रामलीला मैदानमा घटस्थापनाका दिनदेखि राम र सीताको जीवनीमा आधारित विभिन्न कथाहरू नाटकीय रूपमा प्रस्तुत गरिनेछन् । सो अवधिमा श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप, शुभ राज्याभिषेक लगायतका महत्वपुर्ण आकर्षण प्रस्तुत हुनेछन् । रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमण नेतृत्वको २५ जनाको कलाकार टोली नेपालगन्ज आइपुगेको छ ।