खानपान कला र जीवनशैैली

लेखक : डा. अनिलकुमार चौधरी

‘तपाईले खाइरहेको खाना या त तपाईका लागि सुरक्षित र शक्तिशाली औषधि हो या त्यहि खाना एक प्रकारको मन्द विष हो ।’
कसरी खाने, के का लागि खाने भन्ने कुराका लागि यही भनाइ नै काफी छ । आज तपाई हामीसँग खानेकुरा छान्ने प्रसस्त अवसर छ तर याद रहोस् आज गलत खानेकुरा छानियो भने ठूलो गल्ती हुनेछ र भोलि गएर क्यान्सर जस्तो घातक रोग लाग्नसक्छ । त्यस बेला कुनै पनि खानेकुरा छान्ने अवसर रहँदैन ।
सुव्यवस्थित खानपानशैलीका लागि भन्ने गरिन्छ, ‘गरिबले भैmँ खाउ र राजाले भैmँ बाँच ।’ गरिबसँग धेरै चिल्लो पदार्थ, मरमसला, जंकफुडहरु किन्ने पैसा हुँदैन । त्यसैले यी खानेकुरा नखाएर स्वस्थ ऊ हुन्छ । असावधानीवश खानेकुरा खाएर लाग्ने रोगबाट ऊ जोगिन्छ । स्वास्थ्यका लागि हप्तामा एक दिन उपवास बस्नु राम्रो हो । उपवास व्यक्ति या रोगीलाई होइन, रोगलाई भोको राखेर शरीर बाहिर खेदाउने प्राकृतिक क्रिया हो ।

खाने समय र तरिका
– बिहान पेटभरी, दिउसो थोरै र बेलुका त्योभन्दा थोरै खाने गरौं
– उभिएर कहिल्यै खाना तथा पानी खानु हुँदैन
– खाना खानु पूर्व सदैव चिसो पानीले हात खुट्टा मुख धुनु जरुरी हुन्छ
– भोजन गर्दा बिर्सनै नहुने तथ्य के हो भने भारी प्रकृतिको भोजन गर्दा पूरै पेट भर्नु राम्रो हुँदैन
– दुष्ट प्रवृत्ति र गलत आचरणहीन व्यक्तिले दिएको भोजन नगर्ने सल्लाह आयुर्वेदमा छ । त्यस्ता व्यक्तिले दिएकोे भोजन सेवन गर्दा उसका गुणहरु पनि आउँछन्
– बेलुकाको खाना भने भोकभन्दा केही कम र सुत्नुभन्दा कम्तिमा दुई घण्टा अगाडि नै खाइसक्नु पर्छ
– स्वस्थ हुने सजिलो उपाय (थोरै खाने र धेरै हिँड्ने)

स्वास्थ्य र योग
शरीर स्वस्थ राख्न नियमित योग गर्न जरुरी छ । योग गर्न कुनै उमेरको छेकवार हुँदैन । आफ्नो शरीरले थेग्न सक्ने गरी (जबरजस्ती गर्ने होइन) मात्र योग गर्नुपर्छ । दैनिक कम्तीमा आधा घण्टा योग, ध्यान र प्राणायाम गर्दा शरीर स्वस्थ हुन्छ । त्यसैले त भनिन्छ, ‘भोग, रोग र शोकको घडीमा योग ।’ योग आसनः जे जति गर्नुहुन्छ, वैज्ञानिक होस् उपयोगी होस् । सुरु सुरुमा योगगुरुको सानिध्यमा रहेर मात्र योग गर्नुपर्छ । नियमित ध्यान पनि गर्न उत्तिकै जरुरी छ । केही मिनेट भए पनि अवश्य ध्यान गर्नुहोस् ।
एक पटक गौतम बुद्धलाई प्रश्न सोधियो, ‘तपार्ईंले ध्यान गरेर के पाउनुभयो ?’
बुद्धले उत्तर दिए, ‘केही पनि पाइँन ।’
फेरि सोधियो, ‘के गुमाउनु भयो त ?’
उनको जवाफ थियो, ‘क्रोध, चिन्ता, विषाद, असुरक्षा, भय, जन्म–बुढेसकाल र मृत्युको त्रास । मैले गुमाएका विषय हुन् ।’
योग, ध्यान र प्राणायामबाट हामीले अनगिन्ती फाइदा पाउन सक्छौं । नियमित गर्दा रोगै लाग्दैन, दीर्घरोगहरु पनि निको भएर जान्छ । शरीरमा स्फुर्ती र मनमा शान्ति हुन्छ ।

बस्ने तरिका र स्वास्थ्य
अमेरिकी एक शोध अनुसार ७५ मिनेट एउटै कुर्सीमा एकैस्थितिमा बसिरहँदा शारीरिक गतिविधि निस्क्रिय हुन्छ । त्यसैले एकै आसनमा बसेको ७५ बाट ७६ मिनेट कटेपछि त्यसले स्वास्थ्यको मन्दहत्या सुरु गर्छ । अमेरिकी स्वास्थ्य विज्ञहरू भन्छन्– ‘सिटिङ इज किलिङ यु ।’
‘मान्छेहरु आफ्नो स्वास्थ्य गुमाएर धन कमाउनतिर लाग्छन् र फेरि स्वास्थ्य फर्काउनका लागि कमाएको धन खर्च गर्छन्’, यो भनाइबाट पनि स्वास्थ्य नै धन हो भन्ने सहजै बुझ्न सकिन्छ । हाम्रो खानपान र जीवनशैलीलाई थोरै परिवर्तन गर्न समयमै ध्यान दिने हो भने न रोगी नै हुनुपर्छ, न उपचारमै धन खर्च गर्नुपर्छ । सधैं स्वस्थ भइन्छ ।
(लेखक डा. चौधरी, बरिष्ठ आयुर्वेदिक चिकित्सक ,बाँके आयुर्वेद स्वास्थ्य केन्द्र, नेपालगन्जमा कार्यरत हुनुहुन्छ)