बुधबार, मंसिर १०, २०७७ / Wednesday 25th November 2020

ध्यान : यात्रा हृदयको

दिनचर्या योगध्यानबाट सुरु गरेर संसारिक कार्यहरू गरियो भने अवश्य नै हामी खुसी र आनन्दित भएर जीवनलाई सहज र सरल रुपमा पार गर्नसक्छौं

शरीरलाई स्वस्थ तथा मनलाई शान्त र तनावबाट मुक्त बनाउने उत्तम उपाय भनेको योग र ध्यान नै हो । नियमित रुपमा निर्देशित योग, ध्यानको अभ्यासले शारिरीक, मानसिक विकासका साथै अध्यात्मिक ज्ञान प्राप्त हुन्छ । नियमित रुपमा गरिएको योग, ध्यानबाट व्यक्तिको जीवनमा मन शान्त हुने तथा केही सकारात्मक परिवर्तनहरू हुन थाल्दछ र स्वास्थ्यमा पनि सुधार आउँदछ । हाम्रा ऋषि मुनिहरूले गर्दै आएको योग र ध्यानका विषयलाई आज विज्ञानले पनि मानव जीवनमा लाभकारी छ भनी पुष्टि गरिसकेको छ । कतिपय रोगहरूमा वैकल्पिक उपचारको रुपमा अमेरिका, यूरोप, भारतलगायतका देशहरूमा योग र ध्यानलाई प्राथमिकतामा राखेको पनि पाइन्छ । संयुक्त राष्ट्रसंघको न्यूयोर्क कार्यालयले यसै वर्षदेखि आफ्नो कर्मचारीहरूको लागि ध्यान गर्ने अलग स्थान छुट्याएको छ । विश्वभरी फैलिरहेको कोराोना भाइरस (कोभिड १९) बाट बच्न र आफ्नो शरीरको प्रतिरोधात्मक क्षमता बढाउन तथा मानसिक स्वास्थ्यको लागि पनि प्राणायाम, योग र ध्यानलाई विश्वले उपयोगी मानिरहेको छ । यो सबै कुरा हामीले सुनिआएकै हो तर ध्यानको शिविरमा सहभागी भइ समूहमा गरिएको ध्यानमा पाएकोे विशेष अनुभूतिलाई म यहाँ उल्लेख गर्ने प्रयास गरेको छु ।
‘यात्रा हृदयको’ सुन्दा कतिपयलाई अनौठो लाग्न सक्छ । तर जो अध्यात्मिक मार्गमा हुनुहुन्छ वहाँहरूको लागि यो कुनै अनौठो विषय होइन । यो यात्रा बाहिरी कुनै स्थानको होइन, यो हामीभित्र नै अदृश्य रुपमा रहेको एउटा अर्को संसारको हो जुन हाम्रो शरीरमा नै सुक्ष्म रुपमा रहिरहेको छ । जसलाई ध्यानको माध्यमबाट बुझ्न, जान्न र महसुस गर्न सकिन्छ । बहिरमुखी यो मनलाई ध्यानको माध्यमबाट अन्र्तमुखी र केन्द्रित गरी एकातर्फ प्रवाहित गर्नासाथ यो अवगत भइहाल्दछ ।
मलाई यस्तो यात्राको अनुभव लिने अवसर आज भन्दा १२-१३ बर्ष अघि नै मिलेको थियो । पहिलो पटकको अनुभवमा म यसलाई त्यति राम्ररी बुझ्न सकेको थिइन । तर ममा खालीपनको आभास भएको थियो र आत्मतत्वको बोध अलिकति भए पनि मनमा अंकुृरण भएको थियो । यो आत्मतत्व र यसको गहिराईमा पूर्ण रुपमा नभए पनि थोरै डुबुल्की मारी केही अनुभव भने यसपटक प्राप्त भएको छ । विभिन्न निर्देशित योग तथा ध्यानको विधिबाट यस्तो अनुभव लिन सकेँ । म त भित्री रुपमा खोक्रो पो रहेछु । जो म हुँ भनी घमण्ड गर्दछु त्यो नै म रहेनछु । म न शरीर, न कुनै रुप, म त आकाश पो रहेछु । ध्यानको माध्यमबाट मलाई आफू आगो फुक्ने ढुंग्रो जस्तो भनौ बाँसुरी जस्तो खाली र खोक्रो रहेको अनुभव भयो । हाम्रो शरीर पञ्च भूतले बनेको हुन्छ भन्ने ज्ञान मलाई थियो र स्वयम्ले यसको अनुभूति गर्न पाएको थिइँन । त्यसमा पनि ९० प्रतिशत आकाश तत्वले बनेको हुन्छ भन्ने सुन्दा त झन कसरी त्यसो होला भन्ने जिज्ञासा मनमा भइरहन्थ्यो । यसको प्रत्यक्ष अनुभव मैले यस ध्यान शिविरबाट गर्न पाएँ । म त आकाश पो रहेछु । मेरो शरीर, आकाश तत्वले चारैतिरबाट घेरिएको पोे रहेछ । जसरी माछा पानीमा पौडिरहेको हुन्छ त्यसरी नै म त आकाशमा हावामा पौडिरहेको रहेछु । हावाका एक एक कणले मेरो शरीरलाई चुमेका रहेछन् र यसैबाट नै मेरो प्राण बचेको र चलेको रहेछ । मलाई यही हावाले श्वासको माध्यमबाट बचाएको रहेछ । यही हावामा नै म रहेछु । हावा म भन्दा भिन्न रहेनछ । मेरो शरीर भरि रहेछ र यसैमा म अडेको रहेछु । यस्तो महसुस भइरहँदा मलाई, हामी मानिसहरूले हावालाई दुर्गन्धित पार्दा कति हामीलाई नै असर गरिरहेको रहेछ भन्ने कुराबाट दुःखी बनायो । प्रकृति मबाट भिन्न रहेनछ । सबै प्रकृतिमा नै म रहेछु भन्ने कुराको बोध मलाई भयो । मेरो मनमा प्रकृति प्रति अथाह प्रेम भरिएर आयो र प्राकृतिक स्रोतमाथिको अत्याधिक दोहनका घटनाहरू सम्झेर आँखा भरियो । मुटु भक्कानियो । फोहोर मैलाले भरिएको नदीमा रहने माछाले भोगेको मनको अनुभूति ममा आयो । यो मैले मेरो जीवनमा कहिले पनि अनुभव गरेको थिइँन । यो मौन ध्यान र गुरुको कृपाबाट नै यो अनुभव लिन पाएँ । यो हृदय यात्रा ध्यानले म को हुँ र मेरो स्वरुप के हो भन्ने विषयमा बुझ्ने र जान्ने अवसर दिएको छ । मेरो लक्ष्य र मेरो अवस्थाको सम्बन्धमा अवगत गराएको छ । म, गुरु र ईश्वर तत्व एक रहेछ । म आजसम्म यस्तो अद्वेत रुपलाई द्वेत रुपमा बुझिरहेको रहेछु । मबाट ईश्वर कति पनि भिन्न रहेनछ । ईश्वर मभित्र नै त बास गरिरहेका रहेछन् । म भने बाहिर बाहिर ईश्वर र आनन्द खोज्न भौतारिरहेकी रहेछु । यो सब मभित्र नै रहेछ । खाली यो सब देख्न र अनुभव लिन सक्ने शक्तिको विकास मैले गर्नुपर्ने रहेछ । जसरी कस्तुरीले आफूभित्र रहेको सुगन्ध कहाँबाट आइरहेको छ भन्ने थाहा नपाएर जंगल जंगल भौतारिरहेको हुन्छ त्यसरी नै म पनि ईश्वर यता हुनुहुन्छ कि उता हनुहुन्छ भनी भौतारिरहेको पो रहेछु । खुसी र आनन्द यता मिल्छ कि उत्ता मिल्छ भनी हिडिँरहेकी रहेछु ।

लेखक : माया शर्मा

म ठानिरहेको थिएँ, यो देखिने संसार नै सबै थोक हो । यसैबाट नै मानिसले सबै खुसी र आनन्द पाउँदछ तर म यो ठूलो भ्रममा बाँचिरहेकी रहेछु । जुन देखिरहेको संसारभन्दा भिन्न अर्को नदेखिने गरि अदृश्य रुपमा रहेको संसार पनि रहेछ । त्यो फरक संसार जहाँ म आनन्द, खुसी र शान्तिको अनुभव गर्न सक्ने रहेछु । जुन संसार मेरो स्थायी घर रहेछ जुन मैले नै बोकिरहेको शरीरभित्र नै रहेछ । यो देखिने संसारमा त म पाहुनाको रुपमा जन्म र मरणबाट आएकी पो रहेछु । अन्तत्वगत्वा पुग्ने स्थान र मेरो कर्मको लेखाजोखा हुने स्थान त अदृश्य रुपमा रहेको रहेछ जुन सुक्ष्म गहिराइ पुगेर निर्देशित ध्यानको माध्यमबाट मात्र अनुभव लिनु सकिने रहेछ । जुन मेरो बुद्धि र ज्ञानभन्दा परको विषय रहेछ । यो अनुभव लिन किताव पढेर सम्भव थिएन । तर, यो निर्देशित ध्यानबाट सहज रुपमा खुसी र आनन्दको स्रोत आफू नै रहेको अनुभव गरेँ । हुनत भागवत् गीतामा पनि भगवान श्रीकृष्णले ध्यान सर्वश्रेष्ठ हो, यसैबाट सबै जगतको अनुभव सहज रुपमा गर्न सकिन्छ भन्नुभएको छ । सायद त्यही भएर होला मलाई पनि अध्ययन भन्दा ध्यान विधिबाट नै सहज रुपमा आत्म र जगत स्वरुपको अनुभव भयो । म भनिरहेको शरीर मेरो बसमा नरहेको, चलाउने वाला त अरु नै रहेछ भन्ने अनुभव भयो । मैले लिइरहेको श्वास पनि मेरो अधिनमा रहेनछ । जब साक्षी रुपमा आफ्नो श्वासलाई हेरेँ त्यो पनि आफै निरन्तर रुपममा चलिरहेको रहेछ । मेरो शरीर चलाउने चैतन्य शक्ति पनि रहेछ जसलाई म देख्न सक्दिन तर अनुभव मात्र गर्न सक्नेरहेछु । मेरो शरीरका अंगहरूले आफै काम गरिरहेका छन् मैले त्यसमा केही चिन्ता गर्नुपर्दैन । मेरो दिमागमा विचारहरूको खोला बगिरहेको छ त्यो कसरी र कहाँबाट आएको हो । यो सबै मेरो बुद्धिभन्दा परको विषय रहेछ । खाली मैले आफूलाई ऐना अगाडि हेर्र्ने मौका पाएँ ।
म त बल्ल यस पथमा आफ्नो यात्रा शुरु गर्दैछु । थुप्रै व्यक्तित्वहरूले जो यस आध्यात्मिक पथमा पहिले देखि नै यात्रा गरिरहनुभएको छ, वहाँहरूका अनुभवहरू सुन्दा म छक्क र अचम्ममा पनि परेको छु । कोही आफ्नो पूर्वकर्महरू धुने र पखाल्ने कार्यमा व्यस्त हुनुहँदो रहेछ । यो सुनेर मलाई लाग्यो वहाँहरू मोक्ष प्राप्तिको पथ समाति सक्नुभएको रहेछ । म त भरखर यो यात्रा शुरु गर्दैछु तर पनि लाग्यो मेरो लक्ष्य पनि त यही हो । यो संसारमा कति पटक भ्रमको जीवन जीवने, कति जुनीको यात्रापछि प्राप्त भएको यो मानव जुनीमा कति पटक आमा बनिसके होला, कतिपटक बुवा बनिसकेँ होला, कतिपटक छोरी र छोरा बने होला, कति पटक सासु, बुहारी बने होला, कति पटक श्रीमान् श्रीमती बने होला यसको कुनै सीमा र अन्त्य पनि छैन । धेरैे पटक नाटक खेलेपछि थकाइ पनि त लाग्दोरहेछ । सायद त्यही भएर होला अब थकाइ मार्ने बेला आयो कि जस्तो भान मलाई भयो । अब आफ्नो स्वभावको शान्ति, खुसी र आनन्दले भरिएको घरमा किन नजाने, किन ढिला गर्ने भन्ने भावनाले मलाई रुवायो । यो सांसारिक मायाको जालबाट विश्राम लिनुपर्छ भनी मेरो मनलाई कतैबाट कसैले झकझकाइरहेको थियो । तर यो सब प्राप्त गर्न कठिनाइ त अवश्य नै छ, तर पनि आफ्नो आनन्द स्वभावलाई चिन्न पाउँदा आँखाबाट आँसुका ढिक्काहरू बगिरहेका थिए । म आकाशमा चराहरू जसरी स्वतन्त्र रुपमा उडिरहेको हुन्छन् त्यसै गरि नै उडिरहेकी थिएँ, हराइरहेकी थिएँ । उतै हराउन मन लागिरहेको थियो । तर यो प्राण शक्ति मेरो शरीरभित्र यो देखिने संसारमा निश्चित समयको लागि आएको छ र यो प्राण यस शरीरमा रहुन्जेल मैले यो सांसारिक कर्तव्य पूरा गर्नुपर्दछ । म कहाँ अहिले नै त्यस संसारमा विलय हुनसक्छु र । यहि सांसारिक यात्रामा रहेर नियमित कर्मसहित यस्तो हृदयको यात्राको अनुभव सदगुरुको सानिध्यमा रहेर नियमित रुपमा योग, ध्यानसहित कर्मको माध्यमबाट दैनिक रुपमा अनुभव गर्न पनि त सकिने रहेछ । जब मानव साक्षी भावमा रहन अभ्यस्त हुन्छ तब मानवले यो सांसारिक जीवनमा रहेर पनि हरपल ध्यानको अनुभव गर्नसक्छ । यसको लागि निर्देशित रुपमा नियमित योग, ध्यान गर्नुपर्छ । जुन भागवत् गीतामा पनि भगवान श्रीकृष्णले यसको विस्तार रुपमा बताउनुभएको छ ।

यस्तो किसिमको हृदयको यात्रा हामी सबैले आफ्नो जीवनमा कम्तीमा एकपटक त गर्नै पर्छ । मानव जीवनमा रहेर यसको लक्ष्य प्राप्तीमा रुची राख्नुपर्छ । आफ्नो लक्ष्य प्राप्तीलाई आफ्नो दिनचर्या नै बनाउनुपर्छु । आफ्नो दिन चर्यामा योग, ध्यान समावेश गरेर यो संसारिक कार्यहरू गरियो भने अवश्य नै हामी खुसी र आनन्दित भएर जीवनलाई सहज र सरल रुपमा पार गर्नसक्छौ । यो जीवनलाई हामी सबै मिलेर उत्सव बनाउन सम्भव रहेछ । (अध्यात्मिक गुरु द आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक श्री श्री रविशंकरबाट निर्देशित Advance Meditation Program ( Silence Meditation) को प्रत्यक्ष अनुभवमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *