सोमवार, माघ १२, २०७७ / Monday 25th January 2021

रोग निवारक : कपालभाती प्राणायाम

दीर्घरोग लागेका ब्यक्ति र रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगै लाग्न नदिने कपालभातीलाई प्राकृतिक अचुक औषधि मानिन्छ
काव्य लम्साल, योग प्रशिक्षक : द आर्ट अफ लिभिङ

व्यस्त जीवनशैलीले हामी योग र ध्यानका लागि समय दिन सकिरहेका छैनौं । योेग–ध्यान त हाम्रो जीवन पद्दतीको अभिन्न पाटो नै हो । नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन हामी अहिले होम क्वारेन्टाइनमा छौं । कोरोनाबाट जोगिनका लागि र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न योगाबाट दैनिकी सुरु गर्र्नसक्छौं । मेरो खुसी डट कमले तपाईलाई योग र ध्यानबारे क्रमशः जानकारी दिनेछ । कुनै पनि योग, प्राणायाम र ध्यान गर्नुअघि शरीरलाई लचकदार बनाउन कम्तीमा ५ दिने १० मिनेटसम्म सुक्ष्म व्यायामहरु गर्नुपर्छ । कुन–कुन व्यायाम, कुन विधिमा कसरी गर्ने भन्नेबारेमा हामीले अघिल्लो अंंकमा ( कोरोनासँग जुध्न नाडी शोधन प्राणायाम) मा उल्लेख गरिसकेका छौं । त्यसैले अघिल्लो अंक पढेर मात्र कपालभाती गर्न जरुरी छ । – सम्पादक

‘सबै रोगको रामवाण’

कपालभाती स्वास प्रश्वास सम्बन्धी एक क्रिया हो । यसलाई हठयोग पनि भनिन्छ । पतञ्जली योग प्रशिक्षक गौरीशंकर मण्डल कपालभाती क्रिया र प्राणायाम दुबै भएको बताउँछन् । उनी यसलाई शरीर शुद्ध राख्ने प्राकृतिक विधि पनि मान्छन् । द आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्साल शरीरमा लाग्ने रोगमध्ये ८० प्रतिशत रोग खानपानका आधारमै लाग्ने र ९० प्रतिशत पेटका विकार स्वासका माध्यमबाट बाहिर निकाल्ने भएकाले यो विधि निकै उपयोगी हुने दाबी गर्छन् । कपालभातीको अभ्यासबाट ९९ प्रतिशत रोगबाट मुक्ति पाउन सकिने मण्डलको जिकिर छ । त्यसैले त सबै रोग निवारणका लागि कपालभातीलाई रामवाण र अचुक औषधि पनि मानिन्छ । कपालभाती नियमित अभ्यास गर्दा दीर्घरोग निको हुने र रोगप्रतिरोधी क्षमता बढाएर रोगै लाग्न नदिने यसमा गुण छ ।

विधि
कपालभाती बिहान खाली पेटमा गर्नुपर्छ । सूर्योदय हुनुभन्दा अघि गर्नु सबैभन्दा उत्तम मानिन्छ । खाना खाएको ३ देखि ४ घण्टापछि पनि गर्न सकिन्छ । यो प्राणायाम सजिलोसँग बसेर गर्नुपर्छ । बस्दा रिटको हड्डी, घाँटी र गर्दन भने सिधा राख्न अनिवार्य हुन्छ । सबैभन्दा राम्रोे त पद्मासनमै बसेर गर्दा हुन्छ । पद्मासनमा बस्न नसक्नेले अर्धपद्मासनमा बस्न सक्छन् । यी दुई आसनमा बस्न नसक्नेले सुखासन (पलेँटी कसेर) बसेर पनि गर्न सकिन्छ । बज्रासन अर्को आसन हुनसक्छ । यी कुनैै पनि आसनमा बस्न नसक्नेले कुर्सी वा सोफा वा बेञ्चमा आरामसँग बसेर पनि गर्न सकिन्छ । बस्दा दुबै हात तिघ्रामा ध्यान मुद्रा (चिनमुद्रा) मा राख्ने वा हत्केलालाई आकासतिर फर्काएर राख्नुपर्छ । ओशोधाराका योग प्रशिक्षक आचार्य पुष्कल नेपाल अपान मुद्रामा कपालभाती सबैभन्दा राम्र्रो हुने बताउँछन् ।
कपालभाती गर्न आँखा बन्द गर्नुपर्छ । सुरुमा एक पटक गहिरो लामो सास लिने । त्यसपछि कपालभाती क्रियामा तिब्र गतिमा नाकको दुबै प्वालबाट स्वास बाहिर फाल्ने । यो प्रक्रिया निकै छोटो, छिटो र सक्रिय हुन्छ । स्वास बाहिर फाल्दा पेट आफैभित्र पस्छ । नाभी खुम्चिन्छ । स्वास बाहिर निस्कने बित्तिकै पेट पनि बाहिर आउँछ । कपालभातीमा एक सेकेन्डमा तिब्र गतिमा स्वास बाहिर निकाल्ने गरिन्छ । शारीरिक अवस्था अनुसार गति घटबढ हुनसक्छ । यो प्रक्रियालाई एकैपटकमा धेरै समय नढाएर क्रमशः बढाउँदै लैजानुपर्छ ।
हरेक पाँच पाँच मिनेटको एक राउण्ड हुन्छ । यसरी पाँच मिनेट गर्दा तीन सय पटक स्वास फाल्ने र लिने हुन्छ । एक राउण्डमा पूरा भएपछि एक मिनेटको विश्रामपछि मात्र पुनः अर्को राउण्ड सुरु गर्नुपर्छ । यसलाई तीन राउण्डसम्म गर्दा हुन्छ । त्यसो गर्दा नौ सय पटक स्वास लिने र फाल्ने हुन्छ । सुरु सुरुमा एक राउण्ड गर्दै क्रमशः बढाउँदै तीन राउण्ड वा सो भन्दा बढीसम्म गर्न सकिने विधिन्न आध्यामित्क संस्थाहरुले जनाएका छन् । ओशोधाराका अनुसार आँखा बन्द गरेर कालोपन (निराकार) मा गर्दा सँगै ध्यान पनि हुन्छ । दीर्घरोगीहरुलाई भने विश्राम गर्दै अलि ढिलो ढिलो स्वास फाल्न लगाइन्छ । योग प्रशिक्षक मण्डल भन्छन्, ‘यो क्रियामा स्वास बाहिर फाल्दा पेटमा दवाब पर्छ । यसरी स्वास फाल्दा पेटभित्रका अंगहरुको व्यायाम हुन्छ । ती अंग स्वस्थ हुन्छन् ।’
यो विधिबाट शरीरका हरेक कोषमा अक्सिजन जाने बाटो सफा गर्छ । फोक्सो सफा हुन्छ । फोक्सो शुद्ध गर्ने यो प्राकृतिक विधि हो । कतिपयले त यो प्रक्रियाबाट चियापत्ति छान्नेमा रहेको चियापत्ति जसरी उल्टोबाट हानेर फालिन्छ । ठीक त्यसरीले कपालभातीबाट फोक्सोको फोहोर बाहिर फाल्न मद्दत मिल्ने पनि बताउँछन् ।

काव्य लम्साल, योग प्रशिक्षक : द आर्ट अफ लिभिङ

फाइदा
प्राणायाममध्ये कपालभाती सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसबाट शारीरिक र मानसिक सबै रोग निको हुन्छन् । त्यसैले कपालभातीका फाइदा नै फाइदा छन् । बरिष्ठ आयुर्वेदिक चिकित्सक डा.अनिलकुमार चौधरी पाचन क्रिया राम्रो हुने र पेटभित्रको बोसो घटाउन मद्दत मिल्ने बताउँछन् । यसबाट तौल घटाउन मद्दत गर्छ । शरीरमा हुने नाडीको शुद्धिकरण गर्छ । पाचन प्रक्रिया बलियो हुन्छ । फोक्सो कमजोर भएर दमलगायतका स्वास प्रश्वास सम्बन्धी सबै रोग निको हुन्छ । रातिमा निन्द्रा राम्रो लाग्छ । सुत्नुअघि गर्दा निद्रा भाग्ने पनि हुनसक्छ । मधुमेहका रोगीका लागि पनि फाइदा हुन्छ । रक्त सञ्चारमा मद्दत गर्छ र मुहारमा चमक ल्याउँछ । छातीको क्यान्सर पनि निको हुने दाबी गरिएको छ ।
योग प्रशिक्षक मण्डल शरीरमा भएका गाँठागुँठी, प्रेसर र छालाका समस्या सबै निको बनाउने बताउँछन् । महिलाहरुलाई नियमित महिनावारीको समस्या समाधान गराउँछ । तर महिनावारी भएको चार दिन अर्थात रगत आउँदासम्म यो प्राणायाम गर्नु हुँदैन । यतिसम्मको कि प्रजनन क्षमता पनि राम्रो हुन्छ । ओशोधारा योग प्रशिक्षक आचार्य पुष्कल नेपाल कपालभाँतीलाई आमाशयको व्यायाम गर्ने विधि भन्न रुचाउँछन् । उनी भन्छन्, ‘लिभर सक्रिय बनाउँछ । ठूलो र सानो आन्द्रा प्रभावकारी बनाउँछ । अमिलो पानी आउने समस्या हल गर्छ । कपालभाती गर्नेलाई कब्जियत हुँदैन । ग्याँस्टिकको समस्या हल हुन्छ ।’ यसले मोटोपन घटाउने र दुब्लो ब्यक्तिले नियमित गर्दा फाइदा पुग्छ । योे प्राणायाम तौल घटाउन पनि गरिन्छ । योग प्रशिक्षकहरु एक सय किलो तौल घटाएको दाबी गर्छन् । यो क्रियाले शरीर र मन हलुका र शान्त बनाउँछ । नियमित रुपमा गर्ने व्यक्तिमा शरीरमा आध्यात्मिक उर्जा उत्पन्न गराउँछ ।

क-कसले नगर्ने
यो प्राणायाम धेरै लाभदायक भए पनि सबैले गर्न मिल्दैन । हर्निया, मिर्गी र कम्मर दुख्नेले यो प्राणायाम गर्नुहुँदैन । पेटमा अल्सर छ । ब्लड प्रेसर हाइ छ भने गर्नु हुँदैन । गर्र्भावस्थामा गर्नु हुँदैन । पेट र अन्य शल्यक्रिया गरेका व्यक्तिले शल्यक्रियाको प्रकृति अनुसार कम्तीमा ६ महिनादेखि बढीमा एक वर्षसम्म गर्न मिल्दैन । अल्सर भएकाले पनि यो प्राणायाम गर्न मिल्दैन । पित्तरोग भएकाले पनि गर्नुहुँदैन । शरीरले थेग्नेभन्दा बढी कपालभाती गरेमा आन्द्रा सुन्निने खतरा हुुन्छ । कपालभाती मात्र गर्दा शरीरमा धेरै तापक्रम हुन्छ । तापक्रमलाई सन्तुलित बनाउनका लागि नाडी शोधन/अनुलोम विलोम गर्नुपर्छ । नाडीशोधनबारे हामीले यसअघि नै उल्लेख गरिसकेका छौं ।
(मेरो खुसी डटकमले योग, प्राणायाम र ध्यानको लाभका विषयका सामग्री प्रकाशित गर्छ । यसको अभ्यास गर्दा योग प्रशिक्षकसँग अनिवार्य परामर्श लिनुहोला । -सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *