क्वारेन्टाइनमा बस्नेले घर जाने बेला दैनिक ५०० भत्ता मागेपछि…

भगवानपुर (बाँके) : ‘हाम्रो लागि प्रति छाकका सात सय ५० रुपैयाँ बजेट आएको छ । दुई सय पचास रुपैयाँको नास्ता र खाना भयो । प्रत्येक दिन पाँच सय रुपैयाँका दरले हामीलाई भत्ता दिनुपर्छ’, नरैनापुर गाउँपालिका ६ को जय किशन माध्यमिक विद्यालय परिसरमा सन्चालन गरिएको क्वारेन्टाइनमा १५औं दिनपछि आइतबार राखिएको विदाइ कार्यक्रममा नरैनापुर ५ मटेहियाका सन्तोषकुमार यादवको मुहारमा खुसी भन्दा आक्रोस थियो, ‘भारतमा कमाएको पैसा पनि पाएनौं । गहुँ काटेर मजदुरी गर्ने बेला क्वारेन्टाइनमा राखे । दैनिक पाँच सयका रुपैयाँका दरले १५ दिनको भत्ता पाउनुपर्छ ।’

उनले क्वारेन्टाइनका नाममा खर्च भएको रकमको फेहरिस्त पनि सार्वजनिक गर्न गाउँपालिकासँग माग गरे । पत्रकारहरु समस्या सुन्न नआएको भनेर दुःखेसो पनि पोखे । उनको भनाइमा सही थप्दै नरैनापुरका शालिकराम वर्र्माले गाउँपालिका अध्यक्षले पनि केही दिन्छु भनेकाले भत्ता पाउनुपर्ने जिकिर गरे । सन्चितराम यादवले त आफू क्वारेन्टाइनमा बसेकाले गहुँ, मसुरो गाईबस्तुले खाएको भन्दै भत्ता मागेका थिए । साधारण मौर्य, बसारन्त अलि शेख लगाएका अधिकांश युवाहरु पनि खाली हात नजाने अड्डीमै थिए । क्वारेन्टाइन सन्चालन समिति र वडाका भद्रभलाद्मीहरु देशैभरी कतै पनि क्वारेन्टाइनमा बस्नेले भत्ता नमागेको र दिन नपर्ने भन्दै सम्झाइरहेको थिए । उनीहरुको कुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मणिराज खराल, लेखापाल प्रकाश अधिकारी सुनेर बसिरहेका थिए । एकछिन अघिसम्म निकै चर्को चर्को रुपमा माग गरिरहेकाहरु जब गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह क्वारेन्टाइन परिसरमा पुगेपछि तैंचुप मैंचुप भए ।
सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष शाहले क्वारेन्टाइन सन्चालन नै गाउँपालिकाका लागि निकै गाह्रो भएको भन्दै निकै कुटनीतिक रुपमा जवाफ दिए, ‘मेरो जनता हुन् । उनीहरुको लागि म जे पर्छ, दिन्छु ।’ तर भत्ता नै दिने आफूले वचन नदिएको र दिन नसक्ने प्रष्ट पारे । प्रमुख प्रशासकीय अधिकृतलाई उनीहरुका जायज माग संघीय र प्रदेश सरकारसँग माग गरेर पत्राचार गर्न अनुरोध गरे । घर फर्कने बेलामा क्वारेन्टाइनमा बस्नेहरुको माग पूरा भएन । गाउँपालिका अध्यक्ष शाहको आदेशमा क्वारेन्टाइनमा दिइएको ओढ्ने, ओछ्याउने, तन्ना, झुल भने सबैले घर लैजान पाए । अध्यक्ष शाहले प्रष्ट पारे, ‘संक्रमित भेटिएको भए सबै नष्ट गर्नुपथ्र्यो । रिपोर्ट नेगेटिभ आएकाले लैजान दियौं ।’
नरैनापुर गाउँपालिकाले कोरोना भाइरस रोकथाम कोष स्थापना गरेर १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यो रकमको आधा भन्दा बढी त क्वारेन्टाइनमै खर्च भइसकेको छ । लेखापाल अधिकारीका अनुसार गाउँपालिकाले सात सय २० परिवारलाई राहात वितरण गरिसकेको छ । २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, २ वटा साबुन र एक किलो नुन राहातमा बाँडिएको छ । तर, क्वारेन्टाइनमा बस्नेहरुले घरमा राहात नपाएको गुनासो गरेका थिए । गाउँपालिकाले छुटेकाहरुलाई अझै राहात वितरण गर्ने जनाएको छ ।