जनसहयोगमा प्रहरी कार्यालयमा प्रतिक्षालय निर्माण

रमेशकुमार यादव । महेमानपुर
प्रहरीलाई नागरिकमैत्री बनाएर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले २७ असार २०७३ देखि ‘प्रहरी मेरो साथी’ अभियान देशैभर सञ्चालनमा छ । समाजमा ‘प्रहरी मेरो साथी’ भन्ने भावना र सम्बन्ध विकास गरेर प्रहरी संगठनको छविलाई गरीमामय तुल्याउने अभियान धेरै ठाउँमा यो नारामै सिमित भएको छ तर बाँकेको राप्ती सोनारी गाउँपालिकाका जनताले भने प्रहरीलाई साथीको व्यवहार गरेका छन् ।

राप्तीसोनारी ६ महेमानपुरका स्थानीयले प्रहरीसँग हातेमालो गरेर एकअर्कासँग सहकार्य गरेर उदाहरणीय बनेका छन् । महेमानपुर अस्थायी प्रहरी पोस्ट फत्तेपुर ‘ख’ का लागि स्थानीयले प्रतिक्षालय निर्माण गरेका छन् । प्रहरी पोस्ट इन्चार्ज जंगबहादुर महत क्षेत्री तीन लाख रुपैयाँ बराबरको सहयोगबाट प्रतिक्षालय निर्माण भएको बताउँछन् । प्रतिक्षालय बनाउन स्थानीय समुदायिक वनले काठ र छानोको लागि खर सहयोग गरेको छ । गाउँले समाजसेवीले इँट्टा बालुवा सिमेन्टसमेत गरेका छन् । नौ जना सुरक्षाकर्मीको ब्यक्तिगत लगानीबाट रंग किनेर पेन्टिङ गरिएको छ । महतले भने, ‘सेवाग्राही आउँदा घामपानीमा ओत लाग्ने ठाउँ थिएन । अहिले निकै सजिलो भएको छ ।’