साउनको अन्तिमसम्म ‘वेस्टर्न मल’ सञ्चालन हुने
नेपालगन्ज : नेपालगन्जको सुर्खेत रोडमा रहेको वेस्टर्न मल यही साउनको अन्तिमसम्म सपिङ मल सञ्चालन गर्ने तयारी गरेको छ ।
मलको सञ्चालक वेस्टर्न बिजनेस गु्रपले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी यही साउनको अन्तिमसम्म धार्मिक परम्परा अनुसार मल सञ्चालन गर्ने तयारी गरेको मलका कल्सल्टेन्ट शैलेश लोहनीले जानकारी दिए । लोहनीले यस्तो मल र मार्ट सम्भवतः लुम्बिनी प्रदेशकै पहिलो भएको दाबी गरे । मलमा एक वर्षअघिदेखि केही व्यापारिक प्रतिष्ठानहरु सञ्चालनमा आइसकेका छन् ।
५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको ५ तले सपिङ कम्प्लेक्समा विभिन्न ब्राण्डका शोरुम, मनोरञ्जनका साधन, इन्डोर गेमिङ जोन, अन्तर्राष्ट्रिय स्तरको सेलुन, सौना तथा स्पा, फुड कोर्ट गरी साना र ठूला गरी ६० वटाभन्दा बढी आउटलेटहरु सञ्चालन हुने वेस्टर्न बिजनेस ग्रुपका अध्यक्ष सञ्जय थापा बताउँछन् । मलको बाहिरी भागमा नेपालगन्जका स्थानीय स्वादका विभिन्न खानाका परिकारका स्टलहरु हुनेछन् । मलभित्र वेस्टर्न मार्ट (सुपर मार्केट) पनि सञ्चालन हुनेछ । जहाँ मल्टिब्राण्ड मोबाइल तथा ग्याजेटका शोरुम, रेष्टुरेन्ट, कफी सप, फेसन शोरुम रहने वेस्टर्न मार्टका अध्यक्ष प्रकाश लामिछानेले बताए । वेस्टर्न बिजनेस ग्रुपले भवन निर्माणमा ३५ करोड र मार्टका लागि थप १५ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।