बैजनाथ-५ पनि बालविवाह मुक्त वडा घोषणा
नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं. ५ पनि बालविवाह मुक्त वडा घोषणा भएको छ । यसअघि १३ चैत्र २०७७ मा बैजनाथ–१ बालविवाह मुक्त वडा घोषणा भइसकेको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीको उपस्थितिमा आइतबार आयोजित कार्यक्रममा वडा नंं. ५ का अध्यक्ष मनबहादुर खत्रीले वडालाई बालविवाह मुक्त घोषणा गरेका हुन् ।
गाउँपालिका अध्यक्ष ठकुरीले बालविवाह भएमा सन्तानलाई अभिभाभवको जिम्मा नलगाएर कानुनी कारबाही गरिने चेतावनी दिए । उनले भने, ‘अब बालविवाह भएमा अभिभावको जिम्मा लगाइँदैन । बिहे गराउने धर्मगुरु, भोजभतेरमा सहभागी सबै कारबाहीको भागिदार बन्नुपर्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले गाउँपालिकामा बालविवाह मुक्त अभियान सञ्चालन गर्न नीति, कार्यक्रम र बजेटको व्यवस्था गरिएको बताए । बालविवाह मुक्त वडा घोषणा गर्दै बैजनाथ–५ का वडा अध्यक्ष खत्रीले वडामा बालविवाह शून्य अवस्थामा पु¥याउन नागरिकसँग हातेमालो गर्न आग्रह गरेका थिए । कार्यक्रममा स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे र बैजनाथ गाउँपालिका स्तरीय एकता किशोरी क्लब अध्यक्ष अनु रावतले बालविवाह मुक्त वडा घोषणा गर्न गरेका क्रियाकलापबारे जानकारी गराएका थिए ।
सोही अवसरमा बालविवाहविरुद्ध कलम चलाउने पत्रकार रवि रोकाय, कोहलपुरको रेडियो प्रतिबोध, स्याक नेपाल, प्लान इन्टरनेशनललगायत आधा दर्जन संघसंस्थालाई सम्मान गरिएको थियो ।
बैजनाथ गाउँपालिकामा बालविवाह मुक्त वडा घोषणा गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । कोहलपुर नगरपालिकाको वडा नं. ३, खजुरा गाउँपालिका–१, जानकी गाउँपालिकाको वडा नं. १, २ र ३ मा पनि बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी भइरहेको छ ।