रुकुमका नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद, ८ लाई सफाइ

नेपालगन्ज : जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार नवराज विक हत्यामा अभियुक्तलाई जन्मकैदको सजाय सुनाएको छ ।
साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा नवराजसहित ६ जनाको हत्या भएको थियो । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खडकबहादुर केसीको इजलासले तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैद सजायको फैसला गरेको हो ।
फैसलामा घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाइ हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको उल्लेख छ ।
रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार जन्मकैदको सजाय पाउनेमा नवराजकी प्रेमिकाका बाबु, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ललाई जन्मकैदको सजाय सुनाइएको जिल्ला अदालत ले जानकारी दिए । त्यस्तै विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगर रहेका छन् । नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । हरेक पिडितका परिवारलाई ४० हजार रुपैंयाका दरले क्षतिपूर्ति भराउने आदेश भएको छ ।
घटनामा संलग्नको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुन गरी ८ जनाले सबै मुद्दामा सफाइ पाएका छन् । १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।